ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

सल्यानमा एचपिभी खोप अभियान, २ हजार ६ सय ६९ किशोरीलाई लगाइदै

  सल्यान खबर डेस्क २०८२ माघ २७ गते मंगलबार १८:५१:१५ मा प्रकाशित

माघ २७,सल्यान 
सल्यानमा आजबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोप लगाउन सुरु भएको छ । जिल्लाका  २ हजार ६ सय ६९ किशोरीलाई  (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाइने छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार ६ कक्षामा अध्ययनरत किशोरी तथा विद्यालय नजाने १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइनेछ ।

कार्यालयका अनुसार यस अभियानअन्तर्गत गत वर्ष खोप लगाउन छुटेका कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई समेत समेटिनेछ । खोप अभियान जिल्लाका १० वटै पालिकाका विभिन्न खोप केन्द्रमार्फत सञ्चालन गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत तथा खोप संयोजक तारा रिजालले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लाका १० पालिकामा रहेका २४७ खोप केन्द्रबाट खोप अभियान सञ्चालन गरिएको छ । देशव्यापी रूपमा सञ्चालन हुने यो कार्यक्रम यही माघ २७ गतेदेखि फागुन ५ गतेसम्म चल्नेछ । विद्यालय जाने किशोरीलाई विद्यालयमै खोप दिइनेछ भने विद्यालय नजाने किशोरीलाई अभियानका खोप केन्द्रबाट खोप लगाइने  उहाँको भनाई छ । खोप अभियानका लागि करिब ५ सय स्वास्थ्यकर्मी तथा स्वयंसेवक परिचालन गरिएको छ । जिल्लाका सबै स्थानीय तहसँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । यो अभियानले पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top