होमपेज / समाज
जिल्लाको कालिमाटी क्षेत्रका सामुदायिक वन उपभोक्ता समूहहरूले वन व्यवस्थापनमा अनावश्यक हस्तक्षेप बढेको भन्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रशासनको ध्यानाकर्षण गराएका छन्।
दिगो वन व्यवस्थापन कार्यक्रम लागू भएका १९ वटा सामुदायिक वन समूहका अध्यक्ष तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल र स्थानीय वन महासंघ कालिमाटीले संयुक्त रुपमा ज्ञापन पत्रमा बुझाएर ध्यानाकर्षण गराएका हुन । प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटा समक्ष ज्ञापनपत्र बुझाउदै वन ऐन २०४९ र नियमावली २०५१ अनुसार सञ्चालन भइरहेका सामुदायिक वनमा पछिल्लो समय विभिन्न र प्रहरी निकायबाट अवरोध सिर्जना गरिएको उल्लेख गरिएको छ।
ज्ञापनपत्रमा विशेष गरी प्रहरी र डिभिजन वन कार्यालयबीच समन्वय अभाव हुँदा वन व्यवस्थापनका काम प्रभावित भएको जनाइएको छ। आफूहरूलाई काठ तस्करीजस्ता आरोप लगाएर बदनाम गर्ने प्रयास भइरहेको उनीहरूको गुनासो छ।
सामुदायिक वन उपभोक्ता समूहहरूले सामाजिक सञ्जालमा फैलाइएका केही समाचारहरू तथ्यहीन रहेको दाबी गर्दै यस्ता गतिविधिले वन व्यवस्थापन प्रणालीप्रति नै नकारात्मक असर परेको बताएका छन्।
उनीहरूले वनसम्बन्धी काममा अनावश्यक हस्तक्षेप नगर्न, कानुनअनुसार काम गर्ने वातावरण सुनिश्चित गर्न र गलत सूचना फैलाउनेमाथि कारबाही गर्न माग गरेका छन्। माग पूरा नभए आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि उनीहरूले दिएका छन्।





.jpg)