ट्रेण्डिङ

होमपेज / समाज

नागरिकका घरको सुरक्षा गर्दै सल्यानको शारदा नगरपालिका

  सल्यान खबर डेस्क २०८२ चैत्र ८ गते आइतबार २०:०३:५७ मा प्रकाशित

गत पुस १२ गते बिहान करिब ४ बजेतिर शारदा नगरपालिका– ८, सुनटाकुराकी लाली वलीकाे घर विद्युत् सर्ट भई आगलागी  हुँदा पूर्ण रूपमा जलेर नष्ट भयो । बिहानको समय भएकाले मानवीय क्षति नभए पनि घरभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भए । जीवनको एउटा सहारा नै जलेर खरानी भएपछि उनको परिवारले केही महिना निकै कष्टकर रूपमा काट्न बाध्य छिन् ।

 

शारदा नगरपालिकाका कर्मचारी घर बिमा गराउँदै आउँदा उनले पनि घर बिमा बनाइन् । आज त्यही घर बिमा उनको सारथी बनेको छ । घर जलेर पूर्ण नष्ट भएपछि बिमाबाट उनले एक लाख ६७ हजार ८४० रुपैयाँ पाइन् । 

 

यस्तै, शारद नगरपालिका– ७, श्रीचौरका सूर्यबहादुर थापाको पनि  भदौ २१ गते बिहान एक तलाको कच्चीघर भत्कियो । चारजनाको परिवार बस्दै आइरहेको घर भत्किएपछि झन्डै ६ महिना घरनजिकै रहेको गोठमा वास भयो । उनले पनि घर बिमा गरेकै कारण पालिकाबाट ८८ हजार ६५० रुपैयाँ पाए । 

कर्णाली प्रदेश सरकारले घर बिमा कार्यक्रम सञ्चालन गरेपछि गरिब विपन्न तथा सीमान्तकृत समुदाय बढी प्रभावित भएका छन् । १० स्थानीय तह रहेको सल्यानमा शारदा नगरपालिकाले मात्र घर बिमा कार्यक्रम सञ्चालन गरेको छ । कुनै घटना घटेर घर  नष्ट भएमा अर्को घर बनाउन नसक्नेहरूका लागि यो घर बिमा कार्यक्रम निकै राम्रो लागेको शारदा नगरपालिका– ८, सुनटाकुराकी लीला वलीले बताइन् । उनले भनिन्, ‘अहिलेको बजारको महँगी तथा अन्य कारण हामीजस्ता गरिबदुःखीले नयाँ घर बनाउन सक्ने अवस्था नै छैन । त्यही समयमा भएको एउटा घर पनि आगलागी भयो । अब टहराको वास हुन्छ कि भन्ने लागेको थियो । समयमै बिमा गरिएछ र अहिले राहत पाइयो र नयाँ घर पनि बनाउन सकियो ।’

यस्तै, शारदा नगरपालिका– १३, स्यानीखालका शिवबहादुर बुढाथाेकीको अनुभव पनि वलीको जस्तै छ ।  घरको एक कुना भत्किएर घरमा क्षति पुगेपछि घरमा बस्न निकै जोखिम थियो । बिमा रकमबापत उनले एक लाख रुपैयाँ प्राप्त गरे । यसले घर नै बनाउन नसक्नेहरूका लागि निकै राम्रो  मलमको काम गरेको उनका अनुभव छ ।

चालू आर्थिक वर्षदेखि सुरु भएको निःशुल्क घर बिमा कार्यक्रममा हालसम्म पाँचजनाले बिमाबापतको रकम पाइसकेको र बाँकी सातजनाको भुक्तानी अन्तिम चरणमा रहेका बिमा साझेदार संस्था नेको इन्सुरेन्स सल्यानका प्रमुख नारायण दाहालले जानकारी दिए । 

कार्यक्रमको उद्देश्य विपतकाे जोखिम न्यूनीकरण गर्दै जनधनको सुरक्षा गर्नु रहेको शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीले बताए । यसअघि मानवीय क्षतिलाई लक्षित सामूहिक दुर्घटना बिमा कार्यक्रम कार्यान्वयनमा रहे पनि घर सम्पत्तिमा केन्द्रित बिमा कार्यक्रम पहिलो भएको उनको भनाइ छ । उनले भने– घर बिमाले भूकम्प, आगलागी, बाढी, डुबान, चट्याङ, भूक्षय, पहिरो, हावाहुरीलगायतका विभिन्न १२ प्रकारका जोखिमलाई समेट्छ । शारदा नगरपालिकाका चार हजार ७०७ घरधुरीको घर बिमा गरिएको छ । 

कर्णाली प्रदेश विनियोजन ऐन, २०८१ को दफा १२ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी कर्णाली प्रदेश सरकार घर बिमा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०८१ जारी गरेसँगै सल्यानलगायत कर्णाली प्रदेशका अन्य जिल्लामा निःशुल्क घर बिमा कार्यक्रम सञ्चालन भइरहेको छ । 

कसरी लिने क्षतिको भुक्तानी

बिमा गरिएको घरको क्षति र नोक्सानी भएमा बिमितले तत्काल बिमकलाई जानकारी गराउनुपर्नेछ । पूर्ण रूपमा भरिएको दाबी फाराम र दाबीको स्पष्ट पुष्टि हुने प्रमाणसहित बिमकसमक्ष निवेदन गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । 

नेपाल बिमा प्राधिकरणबाट जारी भएको दाबी भुक्तानी मार्गदर्शन, २०८१ बमोजिम बिमकले दाबी फर्स्याेटसम्बन्धी कार्य गर्नुपर्नेछ । बिमकले नयाँ बिमालेख प्राप्ति र दाबी भुक्तानी गर्न तोकिएको ढाँचामा प्रत्येक महिनाको ७ गतेभित्र प्राधिकरणको प्रदेश कार्यालयसमक्ष विवरण पेस गर्नुपर्नेछ । प्रदेश कार्यालयमा पेस भएको एकीकृत विवरण प्राधिकरणको प्रदेश कार्यालयले सात दिनभित्र मन्त्रालयसमक्ष पेस गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । त्यसपश्चात् आवश्यक प्रक्रिया पूरा गरी घरधनीलाई क्षतिबापतको भुक्तानी गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top