होमपेज / कला/साहित्य
फिल्म ‘बुलबुल’ नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ओपनिङ फिल्मको रूपमा प्रदर्शन हुने भएको छ । ‘बुलबुल’ पहिलो महोत्सवमा पहिलो पटक समावेश भएको निर्देशक विनोद पौडेलले शिलापत्रलाई जानकारी दिए ।
२८ जुन देखि ३० सम्म हुने अमेरिकाको मेरिल्याण्ड राज्यमा हुने तेस्रो संस्करणका लागि ‘बुलबुल’ ओपनिङ फिल्म छनौट गरिएको महोत्सवका निर्देशक पूर्णसिंह बराइलीले जानकारी दिए । केही साताअघि रिलिज भएको ‘बुलबुल’लाई समिक्षक र बौद्धिक वर्गले मन पराउनुका साथै बक्स अफिसमा पनि राम्रो कलेक्सन गर्न सफल भएको निर्देशक पौडेलले बताए ।
गतवर्षको संस्करणमा नविन सुब्बा निर्देशित ‘गुडबाई काठमाडौं’ ओपनिङ फिल्म रुपमा प्रदर्शन गरिएको थियो भने पहिलो संस्करणमा दिपक रौनियर निर्देशित ‘सेतो सूर्य’ ओपनिङ र क्लोजिङ मिन बहादुर भाम निर्देशित ‘कालो पोथी’ प्रर्दशन गरिएको थियो ।
बराइलीका अनुसार, यो महोत्सव नेपाली डायस्पोरा समुदायको चलचित्र संस्कृतिसम्बन्धी साझा मञ्चको रुपमा स्थापित गराउने लक्ष्यले आयोजना गर्न लागिएको छ ।
नेपाल र अमेरिकाको कला, संस्कृति र ज्ञानलाई सेतुको रुपमा स्थापित गर्ने हेतुले नेपाल अमेरिका फिल्म सोसाइटीले अमेरिकामा महोत्सवमा आयोजना गरिएको उनले बताए ।
मूलतः नेपालका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका चलचित्रहरु प्रदर्शन गरिनेछ । नेपालबाहेक दक्षिण एसिया, अमेरिकासहित विश्वभरि बनेका चलचित्रहरु समेत यस महोत्सवमा समावेश गरिने निर्देशक बराइलीको भनाई छ ।
चलचित्र प्रर्दशन प्रदर्शनपछि फिल्मबारे दर्शक र चलचित्र निर्माता/निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि आयोजना गर्नुका साथै नेपाली डायस्पोरा र फिल्मका विभिन्न विधामा विषयगत छलफल तथा कार्यशालाहरुको पनि आयोजना हुनेछ । प्रतिष्पर्धाका लागि छानिएका उत्कृष्ट चलचिहरुलाई पुरस्कृत पनि गरिनेछ ।
सोसाइटीले चलचित्र प्रदर्शनीका साथसाथै अप्रवासी समुदायलाई लक्षित गरी चलचित्रसम्बन्धी तालिम कार्यशाला, कला संस्कृतिबारे छलफल र चलचित्र महोत्सवजस्ता गतिविधिहरु सञ्चालन पनि सुरु गरेको बराइलीले बताए ।
महोत्सव अमेरिकामा रहेका नेपाली डायस्पोरा संघसंस्था तथा व्यक्तिहरु, नेपाल लगायत विभिन्न देशका चलचित्रसम्बन्धी संघसंस्था र महोत्सवहरुसँगको सहकार्यमा आयोजना गरिनेछ ।
महोत्सवमा सहभागिताका लागि नेपाली र आप्रवासी चलचित्रकर्मी लगायत विश्वभरीका सम्पूर्ण चलचित्रकर्मीहरुलाई महोत्सव भव्य रुपमा सफल बनाउन आयोजक संस्थाले अनुरोध गरेको छ ।





.jpg)