ट्रेण्डिङ

होमपेज / कला/साहित्य

लोक स्टारको बुटवल अडिसन आज

  सल्यान खबर २०७६ मंसिर ६ गते शुक्रबार २३:१८:०५ मा प्रकाशित

लुकेर रहेको लोक संगीत विधाको प्रतिभा खोज्न नेपाल लोक स्टारको बुटवल अडिसनको तयारी पूरा भएको छ। सर्वाधिक राशि पुरस्कार भएको नेपाल लोक स्टारको बुटवल अडिसन शनिबार हुँदै छ। अडिसनको पूर्वसन्ध्यामा बुटवलमा पत्रकार सम्मेलन गर्दै आयोजकले अडिसनको तयारी पूरा भएको जानकारी गराएको हो।

बुटवलको एभरेस्ट स्कुलमा लोक स्टारको अडिसन हुँदै छ। कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीपछि बुटवलमा अडिसन हुन लागेको हो। चाहना मिडियाले निर्माण गर्ने यो कार्यक्रम एपीवान एचडीबाट प्रसारण हुने छ। पत्रकार सम्मेलनमा एपीवान एचडीका डाइरेक्टर तथा लोक स्टारका प्रोगाम हेड सुरेश पौडेलले लुकेर रहेका प्रतिभालाई स्टार बनाउन ठूलो रियालिटी सो गर्न लागिएको बताए। यो कार्यक्रम नेपाल आइडलकै उचाइमा रहने विश्वाससमेत उनले गरे।

त्यस्तै प्रसिद्ध कलाकार तथा प्रमुख निर्णायक जयनन्द लामाले लोक संस्कृति नेपालको पहिचान भएकाले त्यसको जगेर्ना गर्दै यस्ता कार्यक्रमले प्रतिभाको खोजी गर्ने बताए। ‘सगरमाथा, बुद्धको देशसँगै नेपाललाई लोक संस्कृतिको धनी देश भनेर चिनाउन आवश्यक छ’, उनले भने, ‘लोक संस्कृतिको संरक्षणबाटै मुलुककको अस्तित्व रहिरहन्छ।’

देशभरबाट लोक गायनमा खारिएका प्रतिभा खोज्ने रियलिटी सोमा शीर्ष उपाधि जित्नेले ५० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन्। यसैगरी दोस्रो हुनेले २५ लाख रुपैयाँ र तेस्रो हुनेले १० लाख रुपैयाँ नगद प्राप्त गर्ने कार्यक्रम संयोजक माधव थापाले जानकारी दिए। नेपाली लोक स्टारको ३१ भाग बन्ने आयोजक चाहना मिडियाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top