होमपेज / कला/साहित्य
जनकपुरधाममा सम्पन्न जनकपुर साहित्य कला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सवमा एउटा मिथिला चित्रकलाले खुबै चर्चा पायो । चर्चा पाएको चित्रमा घरमा बसिरहेका महिलाहरु पिंजडामा कैद भएको अनभूति गरिरहेका छन् । यता आधुनिक सोच राख्ने युवतीहरु पनि सामाजिक सञ्जालरुपी जालमा जकडिएको चित्रमा देखाइएको थियो ।
चित्रमा नेपाली समाजको एउटा बाटो जीवित बनेको छ।
यो मिथिला चित्रकला सर्लाही हरिपुर्वाकी २३ वर्षिया युवती मनिषा साहले बनाएकी हुन्।
तस्विरले खुबै चर्चा पाएपछि मनिषा एकदमै हर्षित छिन् । कारण यो तस्विरले उनको चर्चा पनि बढाएको छ ।
२३ वर्षको युवा उमेरमा देशैभरी चर्चा पाउनुलाई मनिषा ठूलो सफलता मानेको बताउँछिन् ।
बाल्यकालदेखि नै मनिषाको रूचि चित्रकलाप्रति थियो। उनको रूचि यता भएपनि मनिषाको बुवा पुरुषोत्तम साह र आमा निलमदेवी साह भने छोरीले डाक्टर वा इन्जिनियरिंग पढोस् भन्ने चाहन्थे ।
धेरैले बाबुआमाको इच्छालाई मार्न चाहँदैनन् र भए पनि आफ्नो इच्छा हत्तपत्त व्यक्त गर्दैनन्। तर मनिषाले आफ्नो मन भित्रको ईच्छालाई दबाउन सकिनन्।
बाबुआमालाई आफ्नो चाहना सुनाइन्।
उनले आफ्नो अभिभावकलाई डाक्टर, इन्जिनियरभन्दा बढी समाजप्रतिको उत्तरदायित्व एउटा चित्रकारले निर्वाह गर्न सक्ने बताइन् ।
आर्थिक रुपमा लाभ दिन नसकेपनि चित्रकारले आफ्नो तस्विरको माध्यमले समाजलाई रुपान्तरण गर्नुका साथै नाम र इज्जत पनि बढी हुने भएकोले आफू चित्रकार बन्न चाहेको भन्दै अभिभावकलाई सम्झाइन् ।
मनिषाको कुरा सुनेपछि बुवा पुरुषोत्तम र आमा निलमदेवी दुबै छोरीसँग प्रभावित भए ।
कलिलो उमेरकी मनिषाको परिपक्व कुरा सुनेर आमा निलदेवीले आफ्नी छोरीको सोच आफू भन्दा पनि ठूलो छ भन्ने बुझिन् ।
त्यसपछि मनिषा जनकपुरधामबाट कक्षा १२ पास गरेर काठमाडौंमा आइन ललित कला क्याम्पसमा ब्याचलर अफ फाइन आर्टसमा भर्ना भइन् । मनिषा अहिले तेस्रो वर्षमा अध्यय्नरत छिन् ।
साइबर क्राइम बिरुद्ध लड्न चित्रकलाले उर्जा थप्यो
त्यसै पनि मधेसका छोरीबुहारी, आफूले चाहेअनुसारको स्वतन्त्रता पाउँदैनन् । तर मनिषाले भने तिनै महिलाको सुख, दुख, पीर र व्यथालाई चित्रको माध्यमबाट उजागर गर्दै आएकी छिन् । फेसबुक लगायतका सामाजिक सञ्जालको दुरुपयोगबाट प्रताडित महिलाको सङ्ख्या दिनदिनै बढिरहेको छ ।
मनिषा आफै यसको सिकार भइन् त्यो पनि एक पटक होइन, ३-३ पटक। जब मनिषा आफै पनि यो समस्यामा परिन्, त्यसले उनको कलालाई बेग्ले दिशा प्रदान गर्यो। चित्रमा उनले भर्ने रङ्ग र सोचले अर्के बाटो समात्यो ।
'पहिलो पटक मैले यो समस्यालाई साधारण समस्या मात्रै माने तर फेरी पनि मेले दोहोर्याएर त्यही समस्याको सामना गरें', उनले भनिन्, 'मेरो फेसबुक आइडीबाट फोटोहरु तानेर फेक आइडी बनाएर अश्लिल पोस्टहरु गरियो र मेरै पारिवारिक सदस्यहरुलाई ती पोस्टहरु ट्याग गरियो । म तनावमा आएँ।'
तर पारिवारिक सदस्यहरुको साथका कारण उनी हार मानिन् आफूलाई समस्यासँग बाग्ने होइन् जुध्ने गर्नुपर्छ भनेर थप बलियो पारिन्।
मनिषालाई थाहा छ छोरीमान्छेका लागि नेपाली समाज सजिलो छैन्। समस्या पर्दा मौनता नै राख्छन्।
सामाजिक सञ्जालका कारण पीडित युवती तथा महिलाहरुको संख्या ठूलै छ तर उनीहरू बोल्ने साहास गर्दैनन्, भित्तभित्रै पीडा सहेर बस्छन् ।
'उनीहरू आफ्नो पीडाको विषयमा खुलेर लड्ने साहस देखाउँदैनन् बरु चुप्प लागेर बस्छन् ।'
लड्न चाहनेका लागि पनि सहयोगी वातावरण नभएको उनको अनुभव छ। उनी आफूमाथि भएको साइबर हिंसाको विषयमा न्याय लिन प्रहरीको साइबर सेल पुगिन् । तर सुरक्षा निकायलाई पटक पटक गुहार्दा समेत मनिषाले भने न्याय पाउन सकिनन् ।
सुरक्षा निकाय पनि न्याय दिलाउन नसकेपछि आफू लगायत साइबर क्राइमबाट पीडित महिलाहरुको आवाज आफूले बनाएको तस्विरबाटै उठाउने निधो गरिन् ।
उनी भित्रको चित्रकारलाई यो पीडाले नै लड्ने साहस जुटाइ दियो । त्यसपछि मात्रै मनिषा बालपनमा देखेको सपनालाई साकार बनाउने सोचमा मनिषा पुगिन ।
‘मैले बनाउने अधिकांश चित्रहरु साइबर क्राइमसंग सम्बन्धित हुन्छन्, ति चित्रहरुमा साइबर क्राइमबाट पीडित महिलाहरुको आवाज देखाइएको हुन्छ’, मनिषा भन्छिन्।
मिथिला चित्रकला पढ्ने एक्ली छात्रा
ललितकला क्याम्समा उनीसँगै १ सय २० जना छात्रछात्राहरु पढ्छन् । यी मध्ये मिथिला चित्रकला पढ्ने मनिषा एक्ली छात्रा हुन् । विद्यालय तहमा अध्ययन गर्दा देखि नै चित्रकला बनाउन थाले पनि उच्च तहको अध्ययनले पनि उनलाई अहिले सहज बनाइ दिएको छ ।
एक्ली मिथिला चित्रकला बनाउने विद्यार्थी भएका कारण पनि आफ्नो जिम्मेवारी सामाजका लागि अझ धेरै छ भन्ने मनिषालाई लाग्छ ।





.jpg)