होमपेज / स्वास्थ्य
माघ २२,सल्यान
सल्यानका सबै पालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान सुरु भएको छ । सल्यानका झन्डै १३ हजार किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने लक्ष्य लिइएको छ ।
१० देखि १४ बर्ष उमेर समुहका १२ हजार ९ सय ३८ जना किशोरीहरुलाई एचपिभी खोप लगाउन लागिएको हो । पाठेघरको मुखको क्यान्सरबाट बच्नका लागि नौ वर्षदेखि १४ वर्ष उमेर समूहका ती किशोरीलाई खोप दिन लागिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । १० पालिकाका २ सय ३७ खोप केन्द्रबाट अभियान सञ्चालन गरेर खोप दिइने जनाइउको छ । देशव्यापी खोप कार्यक्रम अन्तर्गत आगामी माघ २२ गतेदेखि फागुन ६ सम्म एकैपटक सञ्चालन हुनेछ ।
बिद्यालय जाने कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने किशोरी र बिद्यालय नजाने किशोरीहरुलाई लक्षित गरि खोप लगाउन लागिएको स्वास्थ्य सेवा कार्यलय सल्यानका प्रमख डा. अर्जुन बुढामगरले जानकारी दिनुभयो । उहाँका अनुसार ति खोप केन्द्रमा २ सय ५० स्वास्थ्यकर्मी र स्वयंसेवक परिचालन गरिने छ । जिल्लाका सबै स्थानीय तहहरू सँग खोप अभियान सञ्चालन गर्ने सम्बन्धि समन्वयात्मक कार्यक्रम गरिएको उहाँको भनाई छ ।
विद्यालयमा रहेका किशोरीलाई विद्यालयमा नै खोप केन्द्र निर्माण गरी खोप लगाइने विद्यालय बाहिर रहेका किशोरीलाई अभियानको अन्तिम दिन खोप लगाइने उहाँले बताउनु भयो । नेपालमा बर्सेनी दुई हजारभन्दा बढीलाई पाठेघरको मुखको क्यान्सर हुने गर्दछ । यस खोपलाई वार्षिक कार्यक्रममा राखेर निरन्तरता दिइएको कार्यालयका प्रमुख बुढाले बताउनु भयो ।