ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा ढोरपिपल मेलाको तयारी तीव्रः ढोरपिपल बजार सरसफाइ

  इन्द्र बुढाथोकी २०८३ जेठ १० गते आइतबार १२:२१:३६ मा प्रकाशित

सल्यान जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर ७ मा सञ्चालन हुन लागेको जिल्लाकै प्रसिद्ध धार्मिक तथा सांस्कृतिक ढाेरपिपल मेलाको तयारी तीव्र पारिएको छ। मेलालाई व्यवस्थित, आकर्षक तथा स्वच्छ बनाउन विभिन्न चरणमा तयारीका कामहरू अघि बढाइँदै गर्दा आज व्यापक सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो।

बजार व्यवस्थापन समितिको आयोजनामा सम्पन्न उक्त सरसफाइ कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष जिबन सिंह ठाकुरी, वडा नम्बर ११ का वडा अध्यक्ष वीरबहादुर बुढा मगर तथा नेपाल पत्रकार महासंघ सल्यानको सह सचिव इन्द्रबहादुर बुढाथोकी को विशेष उपस्थिति रहेको थियो। सहभागीहरूले बजार क्षेत्र, मेला लाग्ने स्थान, सडक आसपास तथा सार्वजनिक स्थलहरूको सरसफाइ गरेका थिए।

ढाेरपिपल मेला सल्यान जिल्लाकै ऐतिहासिक तथा चर्चित मेलामध्ये एक मानिन्छ। हरेक वर्ष यहाँ धार्मिक आस्था बोकेका भक्तजन, विभिन्न क्षेत्रका व्यापारी, कलाकार तथा हजारौँ दर्शकहरूको उपस्थिति रहने गर्दछ। मेलाले स्थानीय कला, संस्कृति, परम्परा तथा आर्थिक गतिविधिलाई प्रवर्द्धन गर्दै आएको स्थानीयवासी बताउँछन्।

सरसफाइ कार्यक्रममार्फत मेलामा आउने पाहुना तथा दर्शकलाई स्वच्छ, सुरक्षित र रमाइलो वातावरण प्रदान गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ। साथै, वातावरण संरक्षण र सामाजिक सचेतनाको सन्देश दिन पनि यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ।

स्थानीय जनप्रतिनिधिहरूले ढाेरपिपल मेलालाई सभ्य, व्यवस्थित र जिल्लाकै उत्कृष्ट मेलाको रूपमा विकास गर्न सबैको साथ र सहकार्य आवश्यक रहेको बताएका छन्। उनीहरूले मेलालाई सफल बनाउन स्थानीयवासी, युवा क्लब, सुरक्षाकर्मी तथा सरोकारवाला निकाय सबैलाई सक्रिय रूपमा जुट्न आग्रह गरेका छन्।

ढाेरपिपल मेलाको तयारीसँगै अहिले बजार क्षेत्रमा उत्साह बढेको छ भने स्थानीय व्यापारीहरू पनि मेलालाई लक्षित गरी आफ्ना व्यापारिक गतिविधि विस्तार गर्न व्यस्त देखिएका छन्। मेलाको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगिता तथा स्थानीय परिकार प्रदर्शनीसमेत सञ्चालन गरिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top