होमपेज / स्वास्थ्य
सल्यानको दार्मा गाउँपालिकाका अधिकांश खानेपानी मुहानमा कोलिफर्मका जीवाणु फेला परेका छन्। पालिकास्तरमा सञ्चालन गरिएको निःशुल्क पानी परीक्षण शिविरमा संकलित २४८ वटा नमुनाको परीक्षण गर्दा ७० प्रतिशत खानेपानीका मुहान तथा धारामा कोलिफर्म फेला परेको हो।
गाउँपालिकाको टोलीले विभिन्न खानेपानी योजनाबाट नमुना संकलन गरी परीक्षण गरेको थियो। प्रारम्भिक परीक्षणमा धेरै नमुनामा कोलिफर्म देखिएपछि सुस्वाको सहयोगमा माइक्रोबायोलोजिस्टसहितको प्राविधिक टोलीले विभिन्न १२ वटा नमुना पुनः परीक्षण गर्दा १२ वटै नमुनामा कोलिफर्म भएको पुष्टि भएको खानेपानी शाखा सुस्वाका वास संयोजक दीप चन्दले जानकारी दिए।
परीक्षण प्रतिवेदनअनुसार केही मुहान तथा धारामा प्रति १०० मिलिलिटर पानीमा उच्च मात्रामा फेकल कोलिफर्म भेटिएको छ। यस्तो दूषित पानी सेवन गर्दा झाडापखाला, टाइफाइडलगायत जलजन्य रोग फैलिन सक्ने जोखिम हुन्छ। खानेपानीका मुहान खुला हुनु तथा अव्यवस्थित हुँदा यसप्रकारको जीवाणु फैलिने चन्दको भनाइ छ। खानेपानीका मुहान सफा नगर्दा, खुला चरी–चरण हुँदा, मुहानवरपर पशुक्षीको फोहोर जम्नु तथा पानीका स्रोतवरपर सरसफाइमा ध्यान नदिँदा पानी दूषित हुने गरेको चन्दले बताए। उनले उपभोक्तालाई पानी उमालेर वा फिल्टर प्रयोग गरेर मात्र पिउन आग्रह गरे।
पानीमा कोलिफर्म भेटिएपछि पानीजन्य रोगबाट बच्न सोडिस विधि, क्लोरिन तथा पियुष प्रयोग गरी पानी शुद्धीकरण गरेर मात्र सेवन गर्न दार्मा गाउँपालिका उपाध्यक्ष जुना मल्लले सबैलाई आग्रह गरिन्। उनले खानेपानीका स्रोतको नियमित अनुगमन र सरसफाइ आवश्यक रहेको उल्लेख गरिन्।
गाउँपालिकाले खानेपानी योजना, व्यक्तिगत मुहान, विद्यालय तथा सार्वजनिक पानीका स्रोत नियमित रूपमा सफा गर्नुपर्ने आवश्यकता औँल्याएको छ। गाउँपालिकाका अनुसार निःशुल्क पानी परीक्षण शिविरले स्थानीय तहमा खानेपानीको गुणस्तरप्रति जनचेतना अभिवृद्धि गर्न सहयोग पुगेको छ।





.jpg)