होमपेज / समाज
सल्यानको कुमाख गाउँपालिकामा गाईभैँसीमा खोरेत रोगसँग मिल्ने संक्रमणले घरपालुवा पशु बिरामी पर्न थालेका छन्। कुमाखको १,४ र ६ नम्बर वडामा खोरेतजस्तै देखिने संक्रमण फैलिएको हो।
घरपालुवा पशुका खुट्टा, मुख तथा गिजामा घाउखटिरा आउने, ज्वरो आउने, र्याल काड्ने, घाँस नखानेजस्ता लक्षण देखिएको कुमाख गाउँपालिका पशुपंक्षी विकास शाखाका पशु विकास अधिकृत विष्णु केसीले जानकारी दिए। खोरेतसँग मिल्दोजुल्दो रोग देखिएको र खोरेत हो वा अन्य रोग हो भनेर परीक्षण गर्नका लागि पशु अन्वेषण प्रयोगशाला सुर्खेत पठाइएको उनको भनाइ छ।
‘पालिकामा सबैभन्दा धेरै प्रभावित किसानहरु वडा नं १, ४ र ६ का रहनु भएको छ। संक्रमण फैलिएको थाहा पाउनेबित्तिकै टोली बस्तीस्तरमा पुगी संक्रमित पशुको नमुना संकलन गरी सुर्खेत पठाएका छौँ,’ उनले भने, ‘एक दुई दिनमा रिपोर्ट आउला।’
अन्य क्षेत्रमा संक्रमण फैलन नदिन लक्षण देखिएका पशुहरूलाई छुट्टै राखिएको र औषधि उपचार भइरहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ। संक्रमित पशुबाट अन्य पशुमा संक्रमण छिटो सर्ने भएकाले औषधि र खोप लगाइएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका सूचना अधिकारी वीरेन्द्र केसीले जानकारी दिए।
बिहीबारदेखि जिल्लाका १० वटै पालिकामा खोरेत रोगविरुद्ध र भेडा बाख्रामा लाग्ने पिपिआरविरुद्धको खोप लगाउने कार्यक्रम रहेको उनको भनाइ छ।





.jpg)