ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानमा कृषकलाई मौरीको गोला सहितको आधुनिक घार वितरण

  इन्द्र बुढाथोकी २०८१ फाल्गुण २४ गते शनिबार २०:१७:१० मा प्रकाशित

२४ फाल्गुण ,सल्यान
सल्यानको बनगाड कुपिण्डे नगरपालिका–४ मा रहेका ६५ जना कृषकलाई आधुनिक मौरीपालनका लागि घार वितरण गरिएको छ। सल्लेरी सामुदायिक वन उपभोक्ता समूह र पारिस्थितिकीय प्रणालीमा आधारित परियोजना (इबिए) को आर्थिक सहयोगमा उक्त घार वितरण गरिएको हो।
वन समूहका अध्यक्ष इन्द्र बुढाथोकीका अनुसार करिब १ लाख रुपैयाँ वन समूहबाट र ६ लाख रुपैयाँ परियोजनाबाट खर्च गरि ६५ वटा आधुनिक मौरीको घार खरिद गरी मौरी तथा गोलासहित वितरण गरिएको हो। उहाँका अनुसार मौरीपालनका लागि यहाँ प्रशस्त वनजङ्गल र चरन क्षेत्र उपलब्ध भएकाले यो व्यवसाय फस्टाउन सक्ने देखिन्छ।

“मौरीपालनको उच्च सम्भावना भएकाले वडा नं ४ डोप्के क्षेत्रमा मौरीका घार वितरण गरेका हौँ,“ उहाँले भन्नुभयो, “आगामी दिनमा यसलाई व्यावसायिक रूपमा विस्तार गर्दै आयआर्जनसँग जोड्ने लक्ष्य राखेका छौँ।“


परियोजना प्रमुख दिक्म्बर दाहालका अनुसार मौरीपालनलाई व्यावसायिक बनाउन यो पहल गरिएको हो।

“कृषि कर्म गर्दै आएका स्थानीय नागरिकको आर्थिक उन्नति गर्न उद्यमशीलतासँग जोड्नु आवश्यक छ,“ उहाँले भन्नुभयो, “मौरीपालनको प्रचुर सम्भावना भएकाले यसलाई व्यावसायिक रूपमा अगाडि बढाउने निष्कर्षमा पुगेका छौँ।“


वडा नं ४, डोप्केका स्थानीय बलबहादुर बुढाथोकी परम्परागत मौरीघारबाट मौरीपालन गर्दै आउनुभएको थियो। उहाँका अनुसार परम्परागत मौरीघारमा समय लाग्ने र केही झन्झट हुने भएकाले अहिले आधुनिक मौरीघार पाएपछि धेरै सहज भएको छ।

“पहिलेको भन्दा धेरै सहज हुने महसुस गरिरहेको छु,“ उहाँले भन्नुभयो, “यसले मौरीपालन व्यवसायलाई अझ व्यवस्थित र फाइदाजनक बनाउनेमा आशावादी छु।“


आज भएको आधुनिक मौरीघार कार्यक्रममा बनगाड कुपिण्डे नगरपालिका–४ का वडा अध्यक्ष पुष्कर बुढा,बन समुहका पूर्व अध्यक्ष झलक बुढा,शिक्षक,बन समुहका सदस्य पत्रकार प्रदीप मगरलगायतको उपस्थिती रहेको थियो
वन समूहले किसानहरूलाई आधुनिक प्रविधिमा आधारित मौरीपालनमा प्रेरित गर्दै उनीहरूको आर्थिक सुधारका लागि यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top