होमपेज / शिक्षा
साउन ११,सल्यान
चार स्थानीय तहका शिक्षक एवम् साक्षरता श्रोत व्यक्तिहरूका लागि पुस्तकालय व्यवस्थापन तथा पुस्तकालय प्रयोग सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । शारदा नगरपालिकाको बरलामा आजदेखि सुरु भएको तालिममा बनगाड कुपिण्डे नगरपालिकाबाट ६ जना, छत्रेश्वरी गाउँपालिकाबाट ५ जना, त्रिवेणी गाउँपालिकाबाट ४ जना र बागचौर नगरपालिकाबाट एक जनाको सहभागिता रहेको छ ।
उद्घाटन सत्रमा प्रमुख अतिथि, कार्यक्रम आयोजक, प्रशिक्षक तथा सहभागीहरूले आआफ्ना साथमा रहेका पुस्तक खोलेर केही समय पढ्ने कार्य गरेर तालिमको औपचारिक सुरुवात गर्नुभएको थियो । पठन संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले पुस्तक बढेर तालिमको उद्घाटन गरिएको हो ।
स्थानीय तहहरूसँगको साझेदारी, रुम टु रिडको सहयोग एवं दलित विकास समाज सल्यानको आयोजनामा सञ्चालित चार दिने तालिममा बोल्दै छत्रेश्वरी गाउँपालिका अध्यक्ष बुढाथोकीले साक्षरता कार्यक्रमले जिल्लामा राम्रो काम गरेको भन्दै पुस्तकालय व्यवस्थापन, कक्षा कोठा व्यवस्थापनका क्षेत्रमा र शिक्षकहरूलाई थप दक्ष बनाउनका लागि प्राथमिकतासाथ काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो पालिकाका थप ९ वटा विद्यालयमा यस बर्सदेखि साक्षरता कार्यक्रम विस्तार गर्दै छौँ ।” यस अघि ६ विद्यालयका कक्षा १ र २ मा बालमैत्री बसाई व्यवस्थापन र ६ वटा पुस्तकालय स्थापना गरिएको तथा शैक्षणिक तथा पुस्तकालय व्यवस्थापन सम्बन्धी शिक्षकलाई पेसागत तालिम प्रदान गरिएको थियो ।
कार्यक्रममा रुम टु रिडका फिल्ड कार्यक्रम व्यवस्थापक श्री दिनेश पोखरेलले शिक्षित बालबालिकाबाट नै विश्वमा परिवर्तन सम्भव छ भन्ने विश्वासका साथ आँफुहरुले काम गरिरहेको भन्दै स्थानीय तहहरूसँगको साझेदारीलाई बढवा दिँदै सबै सामुदायिक विद्यालयमा साक्षरता कार्यक्रम विस्तारका लागि प्राविधिक सहयोग प्रदान गर्न तयार रहेको बताउनुभयो ।
दलित विकास समाज सल्यानका अध्यक्ष श्री हेमराज विकको अध्यक्षतामा भएको कार्यक्रममा तालिमको उद्देश्य बारे प्रकाश पार्दै रुम टु रिडका कार्यक्रम अधिकृत श्री तपेन्द्र वलीले पुस्तकालयको महत्त्व, व्यवस्थापन, सञ्चालन प्रक्रिया, बालमैत्री पुस्तकालय व्यवस्थापन तथा प्रयोग र पठन संस्कृतिको प्रवर्द्धन जस्ता विषयमा प्रशिक्षण दिइने बताउनुभएको थियो ।
तालिम उद्घाटन कार्यक्रममा रुम टु रिडका वरिष्ठ कार्यक्रम अधिकृत बाबुराम पोखरेल, गैरसरकारी संस्था महासङ्घ सल्यानका उपाध्यक्ष खडग शाही, नेपाल पत्रकार महासङ्घ सल्यानका सल्लाहकार श्री शङ्कर केसी लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण साक्षरता कार्यक्रम सल्यानका संयोजक श्री उमेश खरेलले गर्नुभएको थियो ।





.jpg)