ट्रेण्डिङ

होमपेज / शिक्षा

पुस्तकालय स्थापनाले विद्यार्थीमा पढ्ने बानीको विकास

  सल्यान खबर डेस्क २०८१ श्रावण २१ गते सोमबार ११:५९:२८ मा प्रकाशित

सल्यान, २१ साउन ।

सल्यानका सामुदायिक विद्यालयमा सञ्चालन गरिएको पुस्तकालय गतिविधिका कारण महत्त्वपूर्ण सफलता प्राप्त हुन थालेको छ । साक्षरता कार्यक्रम अन्तर्गत प्रारम्भिक तहका बालबालिकाहरूको पढ्ने सिप र पढ्ने बानीको विकास गर्न पुस्तकालयले महत्त्वपूर्ण सफलता प्रदान गरेको हो । आइतबार श्रीनगरमा आयोजित कार्यक्रममा पुस्तकालय गतिविधिमा संलग्न शिक्षकहरूले बालबालिकाहरूमा पढ्ने बानीको विकास सँगै अनुशासन र अन्य व्यवहारिक पक्षमा सुधार आएको बताए । 

सोमबार सम्म सञ्चालन हुने पुस्तकालय पढाई गतिविधि पुर्न ताजगी तालिममा पढाइ गतिविधि कार्यान्वयनका सफलता र चुनौतीहरूबारे सामूहिक छलफल गरिएको छ । पढाइ गतिविधि क्रियाकलापहरूको पुनरावलोकन तथा पुस्तकालय दिगोपनाका क्षेत्रहरूका बारेमा छलफल गरी कार्यक्रमको निरन्तरताका लागि तालिमको आयोजना गरिएको रुम टु रिडका सिनियर कार्यक्रम सहायक तपेन्द्र वलीले जानकारी दिए । 

 

जिल्लाको बागचौर नगरपालिकाका ९, छत्रेश्वरी गाउँपालिकाका ६, दार्मा गाउँपालिकाका ३ र त्रिवेणी गाउँपालिकाका ६ विद्यालय गरी जम्मा २४ जना शिक्षकहरू तालिममा सहभागी छन् । तालिम उद्घाटन कार्यक्रममा बोल्दै छत्रेश्वरी गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख केशर बहादुर वलीले साक्षरता कार्यक्रमले राम्रो प्रभाव पारेको भन्दै पुस्तकालयको दिगोपना र साक्षरता कार्यक्रमलाई निरन्तरता दिनका लागि विद्यालयहरूले कार्य योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा प्रस्तुत गरिएको एक तथ्याङ्क अनुसार हाल साक्षरता कार्यक्रम सञ्चालन भइरहेका ६८ विद्यालयका ४ हजार ३९९ जना विद्यार्थीले ६ महिनाको अवधिमा ३६ हजार ९६२ पुस्तक पढेका छन् । साक्षरता कार्यक्रमले पालिकाहरूबाट लिएको तयांक अनुसार एक विद्यार्थीले ६ महिनाको अवधिमा औसत ८ वटा पुस्तक पढेको रुम टु रिडका सिनियर कार्यक्रम सहायक वलीले जनाए । 

पहिलो दिनको तालिममा सहभागी शिक्षकहरूले पुस्तकालय पढाइले प्राप्त भएका सफलता तथा चुनौतीहरू प्रस्तुत गरेका थिए । शिव मावि बागचौर ११ हारिचारका शिक्षक दीपक खत्री, राष्ट्रिय मावि दार्मा १ दार्माकोटका शिक्षक पदम परियार, सिद्धेश्वरी आवि छत्रेश्वरी ४ चौरपाटाका शिक्षक विमला केसी र माध्यमिक विद्यालय त्रिवेणी ३ टोट्केका शिक्षक मनोज महताराले विद्यालयमा पुस्तकालय पढाइले धेरै सुधार गरेको जनाए । उनीहरूका अनुसार बालबालिकामा पढाई स्तरको वृद्धि र नियमित पढ्ने बानीको विकास भएको छ भने पुस्तकालय पढाई गतिविधिका कारण स्वस्थ प्रतिस्पर्धाको भावना जागृत भई पढाइमा सुधार आएको छ । यस्तै समूहमा बसेर बालबालिकाले स्तर अनुसारका पुस्तक पढ्न पाएका छन् भने चित्र हेर्दै मनोरञ्जनात्मक रुपमा सक्रियताका साथ पढाइमा संलग्न हुने गरेका छन् । तालिममा पुस्तकाको दिगोपना, पुस्तकहरूको सुरक्षा, जनशक्ति व्यवस्थापनमा देखिएको समस्यालाई समाधान गर्ने विषयमा पनि वृहत् छलफल हुने जनाइएको छ । 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सल्यानका कार्यवाहक अध्यक्ष शङ्कर केसी, आसमान नेपालका लक्ष्मण थापा, प्रारम्भिक कक्षा सिकाइ कार्यक्रमका पदम कठायत लगाएको सहभागिता रहेको थियो । 

जिल्लाका स्थानिय तहको लागत साझेदारी सहित रुम टु रिडको आर्थिक सहयोग, पढ्नको लागि कोठाको प्राविधिक सहयोग, दलित विकास समाज सल्यानको व्यवस्थापनमा साक्षरता कार्यक्रम सञ्चालन भइरहेको छ । हाल सम्म सल्यानका १२२ विद्यालयमा यो कार्यक्रम लागू भइसकेको छ । जस मध्ये ५४ वटा विद्यालयमा साक्षरता कार्यक्रम हस्तान्तरण भइसकेको छ भने ६८ विद्यालयमा कार्यक्रम सञ्चालनमा छ । यस्तै २५ वटा विद्यालयमा स्थानीय सरकारको आफ्नो मात्रै लगानीमा साक्षरता कार्यक्रम सञ्चालन भइरहेको रुम टु रिडका सिनियर कार्यक्रम सहायक वलीले जनाए । शारदा नगरपालिकाले १५ वटा र बागचौर नगरपालिकाले १० वटा विद्यालयमा आफ्नै लगानी र रुम टु रिडको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन गरिरहेको उनले जनाए । 

श्रीनगरमा सञ्चालन भइरहेको पुस्तकालय पढाई गतिविधि पुर्न ताजगी तालिममा साक्षरता सहजकर्ताहरू सुनिल नेपाली, सित गिरी, महेश देवकोटा, कमल महतारा र गीता गिरीले सहजिकरण गरिरहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top