होमपेज / शिक्षा
सल्यान, ६ असार । विद्यालयका गतिविधिलाई प्रविधिसँग जोड्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् ।
छत्रेश्वरी गाउँपालिकाको आयोजनामा ४ दिन सम्म सञ्चालन भएको आइटी श्रोत शिक्षकहरूको लागि सूचना प्रविधि तथा एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली सम्बन्धी क्षमता अभिवृद्धि तालिम समापन कार्यक्रमका वक्ताहरूले शैक्षिक क्रियाकलापहरूलाई प्रविधिसँग जोड्नुपर्ने र विद्यालयका तथ्याङ्क व्यवस्थापनमा गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएका हुन् । विद्यालयको गुणस्तर सुधारमा सबैको प्रयास हुनुपर्नेमा बिहीबार भोटेचौरमा आयोजित कार्यक्रमका सहभागीहरूको जोड थियो ।
साधन श्रोतले भ्याएसम्म विद्यालयमा सूचना प्रविधि सम्बन्धी क्रियाकलाप र कार्यक्रम सञ्चालन गरिने जनाउँदै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले विद्यालयमा शैक्षिक व्यवस्थापन सूचना प्रणालीको प्रयोग गर्न आग्रह गरे ।
नयाँ नयाँ प्रविधि आइरहने भन्दै गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले सिकेका ज्ञान सीप विद्यालयमा लागू गर्ने र अरूलाई पनि ज्ञान बाँड्नुपर्ने धारणा व्यक्त गरिन् । यस प्रकारको तालिमले सुचना प्रविधिको उपयोग र विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा टेवा पुर्याउने प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीको अपेक्षा छ । सो अवसरमा छत्रेश्वरी गाउँपालिकाका ७ वटा विद्यालयलाई एक एक थान ल्यापटप प्रदान गरिएको थियो । पृथ्वी आधारभूत विद्यालय, जनप्रेमी आधारभूत विद्यालय, वसन्त आधारभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय खाप डाँडा, खड्गदेवी आधारभूत विद्यालय, नारायण आधारभूत विद्यालय र सरस्वती आधारभूत विद्यालय रानीपोखरीलाई ल्यापटप उपलब्ध गराइएको हो । आइटी श्रोत शिक्षकहरूको लागि सूचना प्रविधि तथा विद्यालयको शैक्षिक गतिविधि अद्यावधिक गर्ने सफ्टवेयर सम्बन्धी तालिमले सकारात्मक परिणाम ल्याउने सहभागीहरूको विश्वास छ ।
सहभागीहरूको तर्फबाट समापन कार्यक्रममा बोल्दै कालिका आधारभूत विद्यालय छत्रेश्वरी २ सल्लेरीका शिक्षक कुन्ता कुमारी केसी र जनप्रेमी आधारभूत विद्यालय छत्रेश्वरी ४ खर्सु बासका शिक्षक कृष्ण बहादुर केसीले पुनर्ताजकी तालिमको अपेक्षा गरे । तालिममा प्रशिक्षकहरू सूचना प्रविधि अधिकृत मिलन कुमार वली र तुलसी चन्दले कम्प्युटरमा शब्द लेखन, व्यवस्थापन, गुगल र वेबसाइट सञ्चालन, एक्सल र पावरपोइन्ट सञ्चालन, अनलाइन मार्फत विवरण अद्यावधिक तथा विद्युतीय भुक्तानी लगायतका विषयमा महत्त्वपूर्ण जानकारी प्रदान गरेका थिए ।