होमपेज / शिक्षा
जेठ ३२,सल्यान
अत्यधिक गर्मीले विद्यार्थी कक्षा कोठामा नै बिरामी हुन थालेपछि सल्यानका तीन स्थानीय तहका शिक्षण संस्था बन्द भएका छन् ।
गर्मीले बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि विद्यालय बन्द भएका छन् । त्रिवेणी गाउँपालिकाले एक हप्ता, शारदा नगरपालिकाले तीन दिन र बनगाड कुपिण्डे नगरपालिका ७ मा रहेको कृष्ण माध्यमिक विद्यालयले ३ दिन बन्द गरेका छन् ।
बर्खे बिदा कटौती हुने गरेर पालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरिएको त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसीले जानकारी दिनु भयो । अत्यधिक गर्मीका कारण विभिन्न विद्यालयका विद्यार्थीहरू बेहोस भई पठनपाठन प्रभावित हुन थालेपछि शुक्रवारदेखि असार ६ गतेसम्म विद्यालय बन्द गरिएको उहाँको भनाई छ । साथै मौसम अनुकूल भएमा कार्यालयले आवश्यक निर्णय गरी पठनपाठनका सुचारु गर्ने केसीले बताउनु भयो ।
यस्तै शारदा नगरपालिकाले पनि गर्मीका कारण विद्यार्थी बिरामी हुन थालेको भन्दै नगरभित्रका विद्यालयमा तीन दिन बिदा दिएको छ ।