ट्रेण्डिङ

होमपेज / शिक्षा

सल्यानमा विद्यार्थीको आत्मविश्वास बढाउन नमुना एसइई परीक्षा सुरु

  सल्यान खबर डेस्क २०८० फाल्गुण १५ गते मंगलबार २२:०८:३७ मा प्रकाशित

सल्यान, १५ फागुन ।

सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ मा मङ्गलवारदेखि नमुना एसइई परीक्षा सुरु भएको छ । वडा शिक्षा समितिको निर्णय अनुसार एसइईको पूर्व अभ्यासका लागि नमुना परीक्षा सञ्चालन गरिएको हो । वडाभित्रका महेन्द्र मावि र त्रिभुवन जनता माविका ५५ जना विद्यार्थी नमुना एसइई परीक्षामा सहभागी भएको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष फौद बहादुर बस्नेतले जनाए । गाउँपालिकाले विद्यालयहरु एसइई तयारी कक्षा सञ्चालन गरिरहेको भन्दै उनले विद्यार्थीमा परीक्षाप्रतिको डर हटाइ आत्मविश्वास बढाउन, एसइई परीक्षाको लागि अभ्यस्त बनाउन नमुना परीक्षा सञ्चालन गरिरहेको बताए । 

वडाको सामुदायिक भवन लेखनाचौर गरिपारेमा सुरु भएको परीक्षा यही फागुन १८ गते सम्म सञ्चालन हुने छ । विद्यार्थीले दिनमा दुई वटा विषयको परीक्षा दिइरहेका छन् । नमुना परीक्षाको नतिजा विश्लेषण गरी आगामी एसइई मा राम्रो अङ्कसहित उत्तीर्ण गर्न उपचारात्मक कक्षामा सहभागी गराइ सहयोग गर्न तथा विद्यार्थीमा सहजै प्रश्न बुझ्ने र उत्तर लेख्ने शैलीको विकास गर्न नमुना परीक्षाले मद्दत गर्ने केन्द्राध्यक्ष बालाराम ओलीले बताए । शैक्षिक सुधारका लागि प्रारम्भिक अभ्यास र पूर्व तयारीका लागि सहयोग पुग्ने भन्दै उनले एसइई परीक्षा आउन एक महिना बाँकी रहँदै गर्दा के सुधार गर्न बाँकी रहेछ भन्ने विषयमा जानकारी हुने उनको भनाई छ । 

प्रश्न पत्र र उत्तर पुस्तिकाको लागि आवश्यक स्टेसनरी गाउँपालिकाले सहयोग गरेको छ । आगामी वर्ष नमुना एसइई परीक्षालाई थप व्यवस्थित गरिने वडा कार्यालयले जनाएको छ ।  स्थानीय सरकार आइसकेपछि पहिलो पटक नमुना परीक्षा भएको भन्दै त्रिभुवन जनता मावि छत्रेश्वरी ५ का प्रधानाध्यापक घनश्याम ओलीले वडा अध्यक्ष सहित वडा शिक्षा समितिले राम्रो कामको सुरुवात गरेको बताए । परीक्षामा सहभागी विद्यार्थी खुसी र उत्साहित रहेको भन्दै उनले आफ्ना सन्तानको भविष्यका लागि नयाँ कामको सुरुवात गरेकोमा अभिभावकले जनप्रतिनिधिलाई धन्यवाद दिएको बताए । एसइई नमुना परीक्षाले परीक्षाप्रति रहेको डर अन्योल हट्ने र आफूमा रहेका कमी कमजोरी सुधार्ने अवसर प्राप्त हुने परीक्षामा सहभागी विद्यार्थीको भनाई छ । नमुना परीक्षाको तयारीका लागि विद्यार्थीले गर्ने मिहिनेत, परीक्षा दिँदाको अनुभव र परीक्षापछि शिक्षकहरूबाट पाउने सल्लाह सुझावपछि विद्यार्थीहरूले एसइई परीक्षा राम्रो नतिजा ल्याउने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top