होमपेज / शिक्षा
शंकर केसी, सल्यान, ११ फागुन । सल्यान छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ मा विद्यार्थीले सफल कृषकको बगैँचामा पुगेर अध्ययन गरेका छन् । वडा नम्बर ५ स्थित कालिका आधारभूत विद्यालय लेखपोखराका विद्यार्थीले लघु भ्रमणमा गएर स्थानिय पाठ्यक्रमसँग सम्बन्धित विषयमा सिक्ने प्रयत्न गरेका हुन् ।
सुन्तला खेतीमा सफलता प्राप्त गरेका र गत बर्ष मात्रै १९ लाख ७५ हजारको सुन्तला बिक्री गरेका कृषक दीपेन्द्र कुवरको बगैँचामा पुगेर विद्यार्थीले विभिन्न जानकारी लिएको कालिका आबिका प्रधानाध्यापक बालाराम वलीले जानकारी दिए । विद्यार्थीलाई स्वदेशमै केही गर्नपर्छ भन्ने उत्प्रेरणा दिनका लागि समेत सफल किसानको खेतबारीमा विद्यार्थीको भ्रमण फलदायी हुने अपेक्षा गरिएको छ ।
विद्यालयको वार्षिक कार्यक्रम अनुसार जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, बाल क्लव, आमा समूह सहित सफल र अगुवा कृषकको सुन्तला बगैँचामा लघु भ्रमण गरिएको प्रधानाध्यापक वलीको भनाइ छ । सो अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि छत्रेश्वरी गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले पुस्तकमा मात्र सीमित नभएर विद्यार्थीले प्रत्यक्ष रुपमा देखेर र भोगेर सिक्ने गरेमा प्रभावकारी हुने बताइन् । उनले कृषि पेसालाई सम्मान गर्नुपर्नेमा जोड दिँदै कृषि नै समृद्धिको आधार भएको उल्लेख गरिन । यस्तै कार्यक्रमका विशिष्ट अतिथि छत्रेश्वरी गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेतले यस प्रकारको कार्यक्रमले किसानसँग भएको ज्ञान, सीप र प्रविधिबारे विद्यार्थी जानकार हुन पाउने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर वलीले विद्यालयको विकास र शैक्षिक गुणस्तर वृद्धिका लागि सबैको सहयोगको अपेक्षा राखे । कार्यक्रममा कार्यपालिका सदस्य तिला घर्ती, वडा सदस्यहरू टंक बहादुर वली, तुल्सा नेपाली, वडा सचिव दुर्गा बहादुर केसी, प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखराका प्रमुख वीर बहादुर वली लगायतको पनि उपस्थिति थियो । कक्षा १ देखि ५ सम्मका विद्यार्थी लगायत गरी लघु भ्रमणमा ७८ जना सहभागी थिए । छत्रेश्वरी ५ का कृषक दीपेन्द्रले करिब ७ रोपनी क्षेत्रफलमा सुन्तला खेती गरिरहेका छन् ।





.jpg)