ट्रेण्डिङ

होमपेज / शिक्षा

 सल्यानको कपुरकोटमा आवासीय शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

  सल्यान खबर डेस्क २०८० श्रावण ३० गते मंगलबार १५:२१:४८ मा प्रकाशित

सल्यान,३० असार । सल्यानको कपुरकोट गाउँपालिकामा रहेको एक सामुदायिक विद्यालयले सञ्चालन गरेको आवासीय शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको छ ।

 सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन भन्दै कपुरकोट गाउँपालिका वडा नम्बर ४ मा रहेको श्री क्युरेनी आधारभूत विद्यालयले आवासीय सेवा सहितको पठनपाठन सुरु गरे पछि पहिलो पटक गरिएको समीक्षा  कार्यक्रमबाट आवासीय शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको हो ।

 सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउने लक्ष्यका साथ विद्यालयको सेवा क्षेत्र भित्र रहेर हिँडेर पढ्न आउने बालबालिकालाई विद्यालयमै बसाउने गरी गत साउन ८ गते देखि आवासीय शिक्षा कार्यक्रम सञ्चालन गरिएको प्रधानाध्यापक डिल बहादुर थापाले बताउनु भयो ।

विद्यालयमा बाल विकास सहित विद्यार्थीको सङ्ख्या ५७ छ भने कक्षा १ देखि ५ सम्म ६ जना शिक्षकले पढाउँछन् । शिक्षकहरूले विद्यालयको समय बाहेक बिहान २ घण्टा र बेलुका २ घण्टा अतिरिक्त पढाउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यम थापाले जानकारी दिनु भयो ।

विद्यालयको आवश्यकता अनुसार शैक्षिक सुधार गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालय व्यवस्थापन समितिको प्रस्ताव अनुसार अभिभावकको बृहत् भेलाको निर्णयबाट आवासीय शिक्षा कार्यक्रम सञ्चालन गरिएकोमा आवासीय शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको अभिभावकहरूको भनाई छ ।

 कपुरकोट गाउँपालिका कार्यवाहक अध्यक्ष प्रकाश भण्डारीले क्युरेनी आधारभूत विद्यालयले आवासीय शिक्षा कार्यक्रम सुरुवात गरेर शिक्षाका क्षेत्रमा सल्यान जिल्लामै पहिलो पटक नयाँ अभ्यास गरेको बताउनु भयो ।

कार्यवाहक अध्यक्ष भण्डारीले विद्यालयले सञ्चालन गरेको आवासीय शिक्षा कार्यक्रमलाई सफल बनाउन गाउँपालिकाको तर्फबाट अधिकतम सहयोग हुने बताउनु भयो । ‘हामी कपुरकोट गाउँपालिकामा शिक्षाका क्षेत्रमा केही नौलो र उपलब्धि मूलक काम गर्न चाहन्छौ । जुन काम मध्य आवासीय शिक्षा कार्यक्रम पनि एक हो ।’उँ हाले भन्नु भयो—अब आवासीय शिक्षा कार्यक्रममा सहभागी विद्यार्थीहरूको व्यवस्थित र सुरक्षित बसाइँका लागि सबैको तर्फबाट सहयोग हुनु पर्दछ ।

विद्यालयले गरेको समीक्षा कार्यक्रमका अवसरमा शिक्षक महासङ्घ कपुरकोटका अध्यक्ष श्याम कुमार के.सी.,शिक्षा शाखाका प्रा.स.रमेश कुमार आचार्य,नेपाल शिक्षक सङ्घ सल्यानका अध्यक्ष वामदेव अधिकारी लगायतकाले आवासीय शिक्षा कार्यक्रमलाई पूर्ण रुपमा सफल र प्रभावकारी बनाउन तर्फ शैक्षिक क्षेत्रमा सरोकार राख्नेहरूको ध्यान केन्द्रित हुनु पर्ने बताउनु भएको थियो भने कार्यक्रममा कपुरकोटका समाजसेवी दुर्गा बहादुर गिरीले आवासीय शिक्षा कार्यक्रमलाई सहयोग स्वरूप ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गर्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top