ट्रेण्डिङ

होमपेज / शिक्षा

सल्यानमा बृहत पढाइ मेला

  सल्यान खबर डेस्क २०८० जेठ १५ गते सोमबार १६:१२:५२ मा प्रकाशित

जेठ १५,सल्यान 

सल्यानमा पहिलो पटक पालिका स्तरीय बृहत् पढाइ मेला सम्पन्न भएको छ । सोमबार शारदा नगरपालिका २ स्थित त्रिभुवन जन माध्यमिक विद्यालय लुहापिङमा पढाइ मेला सम्पन्न भएको हो । मेलामा एक हजार बढीले अवलोकन गरेका छन् । 

नगरपालिकाले बालबालिकामा पठनपाठन गर्ने बानीको विकास गर्न जिल्लामा पहिलो पटक बृहत् पढाइ मेला आयोजना गरिएको हो । 

पढाइ मेलामा अक्षर पत्ती खेल र विभिन्न विद्यालयले निर्माण गरेको शैक्षिक सामाग्री हेर्दा निकै रमाइलो लागेको श्री शारदा प्राथमिक विद्यालय शारदा नगरपालिका १ की कक्षा ४ मा अध्ययनरत सृजना रानाले बताउनु भयो । उहाँले भन्नु भयो ‘सरहरूले पढाएको भन्दा मेलामा शिक्षा सम्बन्धी राखिएका सामाग्री हेर्दा निकै रमाइलो लाग्यो ।’ 

शैक्षिक मेलामा आउँदा शैक्षिक सामाग्री पनि यति धेरै हुँदा रहेछन् भन्ने ज्ञान भएको महेन्द्र रत्न माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा विमला कंवरले बताउनु भयो । उहाँले भन्नु भयो ‘हाम्रो विद्यालयले पनि आफूले जाने र बुझेसम्मका शैक्षिक सामाग्री लिएर आएका छौ । धेरै विद्यालयले फरक फरक सामाग्री ल्याउँदा अनुभव साटासाट गर्ने राम्रो अवसर मिलेको जस्तो लाग्छ ।’ बालबालिकामा पढाइ प्रति रुचि बढाउन पढाइ मेला निकै प्रभावकारी देखिएको बालशखा माध्यमिक विद्यालयका शिक्षक प्रमोद केसीले बताउनु भयो । मेलाले शैक्षिक सामाग्रीको प्रयोग, पठन संस्कृतिको विकास गर्न पनि मद्दत गरेको छ । 

विद्यार्थीलाई विषयगत विषयमा उत्प्रेरणा दिन, पढाइलाई प्रतिस्पर्धात्मक बनाउन र बालबालबालिकालाई पढाई प्रति रुचि बढाउने उद्देश्यले मेला सञ्चालन गरिएको शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिला धर बबालले बताउनु भयो । नगरपालिका भित्र रहेका ५७ सामुदायिक र ११ निजी विद्यालय रहेका छन् । ती सबै विद्यालयलाई २० स्टलमा राखी विद्यालयबाट विकास गरिएका बाल केन्द्रित, नविनतम् र आकर्षक पठन सामाग्रीका स्टल निर्माण गरिएको उहाँको भनाई छ । 

रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग र शारदा नगरपालिकाको आयोजनामा नगर स्तरीय पढाइ मेला  भएको हो ।

बालबालिकामा पुस्तक तथा बालमैत्री शैक्षिक सामग्रीको पहुँच बढाउँदै पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पढाइ मेला गरिएको  शारदा नगरपालिका प्रमुख प्रकाश भण्डारीले जानकारी दिनुभयो । उहाँले विद्यार्थी शिक्षक, अभिभावक, जनप्रतिनिधि, कर्मचारी, लेखक, सञ्चारकर्मी तथा अन्य सरोकारवाला गरी करिब एक हजार जनाको सहभागिता रहेको  बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top