होमपेज / शिक्षा
भदौ २७,सल्यान
प्रविधिको बढ्दो प्रचलनसँगै बालबालिकाको पठन संस्कृति बदलिएको छ । कुनै पनि जिज्ञासाको हल खोज्न गोगलमा सर्च गरे पुग्छ । खोजेको कुरा फटाफट आउने भएकाले बालबालिकाहरू यसैमा बढी तल्लीन हुने गरेका छन् ।
तर यसका कारण बालबालिकाहरूमा पुस्तक पढ्ने प्रवृत्ति भने घट्दै गएको छ । विद्यालयको पाठ्यपुस्तक र अन्य उपयोगी पुस्तक पढ्ने बानी हराउँदै गइरहेको छ । पठन संस्कृतिको विकास गर्न रुम टु रिडद्धारा बालबालिकाहरूको रुचिका पुस्तकहरूको संगालोरुपमा पुस्तकालय निर्माण गरेको छ ।
विद्यार्थीको पठन सीप तथा पढ्ने बानीको विकास तथा विद्यार्थीलाई जीवनपर्यन्त स्वतन्त्र पाठक बनाउने उद्देश्य सहित कार्यक्रम लागु गरिएको रुम टु रिड सल्यानले जनाएको छ । कक्षा २ को अन्त्यसम्ममा विद्यार्थीको पठन प्रवाहको गति ४५ शब्दप्रति मिनेट बनाउने कार्यक्रमको मुख्य लक्ष्य सहित सल्यानका सात गाउँपालिकाका ६६ विद्यालयमा साक्षरता कार्यक्रम सञ्चालन गरिएको रुम टु रिड सल्यानका साक्षरता कार्यक्रम संयोजक टेकराज शाहीले जानकारी दिनु भयो । विद्यालयमा प्रारम्भिक कक्षामा पढाई लेखाई र प्राथमिक कक्षा लक्षित पुस्तकालय कार्यक्रमले विद्यार्थीको पठन सीप र पढ्नेबानीको विकासमा टेवा पु¥याएको उहाँको भनाई छ ।
शिक्षकको क्षमता विकासका लागि तालिम, कक्षाकोठा तथा पुस्तकालय केन्द्रित गतिविधिलाई चुस्त दुरुस्त राख्नका लागि सहजकर्ताबाट नियमित अनुगमन तथा सहयोग भइरहेको शाहीले बताउनु भयो ।कार्यक्रमले विद्यालयमा साक्षरता कक्षा, पुस्तकालय, कक्षा कोठा व्यवस्थापन लगायतका कार्य गर्ने उहाँको भनाई छ ।
पाठ्यपुस्तक र अन्य बाहिरका पुस्तक पढ्न रुचि नराख्ने बालबालिका पछिल्लो समय पढ्नमा अभिरुचि बढाउने थालेको भगवती आधारभूत विद्यालय छत्रेश्वरी गाउँपालिका २ दहखोलाका प्रधानाध्यापक टिकाराम वलीले बताउनु भयो । विद्यार्थीको पठन क्षमता सुधार भए नभएको परीक्षण गर्न वर्षको दुई पटक निर्माणात्मक परीक्षण र अभिभावक बैठकमा छलफल गर्दै आइरहेको वलीको भनाई छ ।
साक्षरता कार्यक्रम विश्वभर फैलिएको कोरोना भाइरसका कारण विद्यालय बन्द हुँदा अझै प्रभावकारी देखिएको रुम टु रिडका साक्षरता कार्यक्रम संयोजक शाहीको भनाई छ । बन्दाबन्दी हुने बित्तिकै बालबालिकाको मनोविज्ञानमा नकारात्मक असर नपरोस् भनेर रेडियो कार्यक्रमको माध्यमबाट बालबालिकाहरूलाई सिकाई सहजीकरण गरिएको उहाँको भनाई छ ।





.jpg)