ट्रेण्डिङ

होमपेज / शिक्षा

सल्यानका सबै स्थानीय तहले आन्तरिक मूल्यांकनबाटै वार्षिक नतिजा प्रकाशन गर्ने

  सल्यान खबर डेस्क २०७८ जेठ २२ गते शनिबार १५:२७:१९ मा प्रकाशित

जेठ २२,सल्यान 
सल्यानका स्थानीय तहले आन्तरिक मूल्याङ्कन गरेर वार्षिक नतिजा प्रकाशनको तयारी गरेका छन । दश वटै स्थानीय तहमा रहेका सामुदायिक तथा निजी विद्यालयले विद्यार्थीहरुको आन्तरिक मूल्याङ्कन गरेर नतिजा सार्वजनिक गर्ने तयारी थालेका हुन । 

 विद्यालय लामो समय बन्द भएको र नयाँ शैक्षिक सत्र शुरु हुने समय भइसकेको भन्दै यस्तो तयारी गरिएको स्थानीय तहहरुले बताएका छन् ।
कोरोना भाइरसको दोस्रो भेरियन्ट शुरु हुनुभन्दा अघिसम्म सबै स्थानीय तहमा नियमित पठनपाठन भएको थियो । जिल्लाका सबै स्थानीय तहका अधिकांश विद्यालयले करिब ८० प्रतिशत पाठ पढाएको दावी गरेका छन ।

शारदा नगरपालिकाले शैक्षिक सत्र २०७७ मा सञ्चालित त्रैमासिक र अर्धवार्षिक परीक्षाको नतिजा तथा निरन्तर विद्यार्थी मूल्याङ्कनका आधारमा नतिजा तयार पारी सार्वजनिक गर्न मातहतका विद्यालयलाई आग्रह गरेको छ ।  नगरका सामुदायिक तथा संस्थागत विद्यालयलाई शैक्षिक सत्र २०७७ को नतिजा तयार पारी  जेठ मसान्तसम्म प्रकाशन गर्न परिपत्र गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख लिलाधर ववालले बताए । 
कक्षा ८ को हकमा पनि मूल्यांकन विधि अपनाई विद्यार्थीको सैद्धान्तिक तथा प्रयोगात्मक अंक इएमइसमा जेठ मसान्तसम्म प्रविष्ट गर्न आग्रह गरिएको ववालको भनाई छ । 

बागचौर नगरपालिकाले पनि विद्यार्थीको त्रैमासिक र अर्धवार्षिक परीक्षाको नतिजाका आधारमा नतिजा प्रकाशन गर्न लागेको बताएको छ । आन्तरिक मूल्यांकनको कार्यविधि बनाई शोही कार्यविधि अनुसार नगरपालिकाका सबै विद्यालयले जेठ मसान्तसम्म नतिजा सार्वजनिक गर्न आग्रह गरिएको शिक्षा शाखा प्रमुख टेक बहादुर डिसीले बताए ।  उनले भने ‘अब पुरानै शैक्षिक सत्रको पठनपाठन सम्भव छैन कोर्स पनि करिब पूरा भइसकेको सन्दर्भमा पुरानो शैक्षिक सत्रको नतिजा तयार पारी नयाँ वर्षको शुरुआत गर्ने तयारी भइरहेको छ ।’

 कोरोना महामारी कम हुनेबित्तिकै नयाँ शैक्षिक सत्र असारबाट शुरु गर्ने तयारी गरिएको उनले बताए । 
गाउँपालिकाले निर्धारण गरेको कार्यविधि अनुसार विद्यालयहरूलाई मूल्याङ्कन गरी नतिजा बनाउन निर्देशन दिइने कपुरकोट गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण भण्डारीले बताए । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top