होमपेज / समाज
सरिता चलाउने भदौ २८,सल्यान
सल्यान जिल्लाका प्रमुख सडकको रुपमा रहेको राप्ती राजमार्ग र सहायक सडकको निर्माण, मर्मत तथा अबरुद्ध सडक सुचारु गर्न जिल्ला प्रशासन कार्यालय सल्यानले सम्बन्धित निकायलाई आग्रह गरेको छ । दिन प्रतिदिन जीर्ण बन्दै गइरहेको राप्ती राजमार्ग र वर्षाका कारण रोकिएका सहायक सडकहरूको काम तत्काल सुरु गर्न जिल्ला प्रशासन कार्यालय सल्यानले आग्रह गरेको हो ।
सोमबार जिल्ला प्रशासन कार्यालय सल्यानमा प्रमुख जिल्ला अधिकारी विपिन आचार्यको संयोजकत्वमा जिल्ला भित्र पर्ने सडकहरूको निर्माण, मर्मत पुनः निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा भएको छलफल बाट जिल्लामा रोकिएका मुख्य सडकहरू र सहायक सडकहरूको काम तत्काल सुरु गर्न आग्रह गरिएको हो ।
विशेष गरी जिल्लाको मुख्य सडक राप्ति राजमार्ग, खलङ्गा, वावियाचौर, बालुवा संग्रही लगायतका अन्य सहायक सडकहरूमा रोकिएका काम असोज १ गते देखि नै सुरु गर्न सडक डिभिजन कार्यालय दाङ, पूर्वाधार विकास कार्यालय सल्यान, र निर्माण व्यवसायीहरूलाई आग्रह गरिएको छ ।
चाडपर्व नजिकै आएकाले सडकहरूको निर्माण, मर्मत, तथा स्तर उन्नतिको काम छिटो छरितो र गुणस्तरीय गरी यातायात सञ्चालनमा सहजता ल्याउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिनुभयो । अधिकांश सडकहरूको काम अलपत्र अवस्थामा रहेकाले निमार्ण व्यवसायीले कामको जिम्मा लगिसकेपछि समयमै सम्पन्न गर्नुपर्ने बताउनु भयो । काम गर्ने भनेर निर्माण व्यवसायीहरूले ठेक्का सम्झौता गरे पनि काम नगरेको पाइएकाले रोकिएका काम छिटो सञ्चालन गर्ने वातावरण मिलाउन सडक डिभिजन कार्यालय दाङ र पूर्वाधार विकास कार्यालयलाई अनुरोध गरिएको प्रजिअ आचार्यले बताउनु भयो ।
कार्यक्रममा निमार्ण व्यवसायीहरूले निर्माण सामाग्री मंहगो भएका कारण र बर्सातको कारण सडकहरूको काम गर्न नसकेको बताएका थिए ।
सडक मर्मतका लागि मात्र राप्ति राजमार्गमा बर्सेनि ५० करोड खर्च भइरहेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । यस वर्ष पनि मर्मतको लागि मात्र भनेर ४० करोड बजेट विनियोजन गरिएको छ । तर बजेट खर्च भइरहेपनि बर्सेनि राजमार्ग जीर्ण बन्दै जाँदा यात्रुलाई सास्ती भएको छ भने दुर्घटनाको जोखिम झनै बढेको छ । तर डिभिजन कार्यालयले भने सडक सुधारको काम भइरहेको दाबी गरेको छ ।
ठेकेदारले काममा ढिलाइ गर्दा सडकहरू भने जस्तो सुधार हुन नसकेको सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जैसवालले बताउनु भयो । कार्यालयले जति ताकेता गर्दा र कारबाहीको प्रक्रिया अगाडी बढाउँदा पनि ठेकेदारहरूले काम नगरेको उहाँले दाबी गर्नुभयो । अव कार्यालयले तत्काल दसैँ अगाडी सडकका खाल्डाखुल्डी पुर्ने र पहिरो पन्छाउने काम गर्ने उहाँले बताउनु भयो । अन्य ठेक्का प्रक्रिया लागिसेको ठाउँहरूको पनि मौसम खुलेपछि तत्काल काम सुरु गर्ने सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।
अन्तरक्रिया कार्यक्रममा प्रतिनिधि सभा सदस्य टेक बहादुर बस्नेत, जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावत, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।





.jpg)