ट्रेण्डिङ

होमपेज / समाज

सल्यानका दुई सहकारी सहित १३ किसान मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित

  सरिता चलाउने २०७९ असार २९ गते बुधबार १७:३२:३० मा प्रकाशित

सरिता चलाउने असार २९,सल्यान 

सल्यानका १३ जना किसान सहित दुई सहकारीलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ । कृषि विकास कार्यालय सल्यान र पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले बुधवार  १३ जना  किसान र दुई वटा सहकारीलाई मुख्यमन्त्री उत्कृष्ट पुरस्कारबाट सम्मान गरेको हो । 

कृषि उत्पादन र पशुपालनका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै  उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको हो । जिल्ला समन्वय समितिको कार्यालयमा बुधवार आयोजित कार्यक्रममा पशु अस्पताल तथा पशु सेवा कार्यालयको तर्फबाट ७ जना किसान र दुई वटा सहकारीलाई पुरस्कार प्रदान गरिएको छ । यस्तै कृषि विकास कार्यालय सल्यान तर्फबाट ४ जना किसानलाई पुरस्कार प्रदान गरिएको हो। यस्तै कृषिको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै ९ जना अगुवा कृषकलाई समेत सम्मानित गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख बेलाराम रावत र  प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले संयुक्त रुपमा किसानलाई पुरस्कार प्रदान गर्नुभएको हो  । 

 दूध उत्पादन गर्ने प्रकाश केसी, गाई पालन तर्फ केशव शर्मा, कुखुरा पालन तर्फ दीपमाला तुलाधर, बाख्रा पालन तर्फ दीपेन्द्र रेउले, बङ्गुर पालन तर्फ उमलाल कामी, घाँस उत्पादन तर्फ घनश्याम भण्डारी र माछा पालन तर्फ रमा भण्डारीलाई पुरस्कृत गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख कपिल प्रसाद उपाध्यायले बताउनु भयो । उहाँका अनुसार सहकारी तर्फ जलेखर्क दुग्ध उत्पादन तथा प्रशोधन सहकारी र सामुदायिक बहुउद्देश्यीय सहकारीलाई पुरस्कृत गरिएको छ । किसानले नगद १० हजार रुपैयाँ सहित प्रमाणपत्र र सहकारीलाई नगद २० हजार सहित प्रमाणपत्र प्रदान गरिएको कार्यालय प्रमुख उपाध्यायले बताउनु भयो । 

यस्तै कृषि विकास कार्यालयले अदुवा बाली उत्पादनबाट मदन घर्ती, तरकारी उत्पादन गर्ने पवित्रा वली, मौरी पालन तर्फ जित बहादुर बुढा र फलफूल खेती तर्फ रूपधरि योगीलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार बाट पुरस्कृत गरिएको कृषि  विकास कार्यालय सल्यानका प्रमुख भरत बस्नेतले बताउनु भयो । उहाँका अनुसार पुरस्कृत हुने किसानलाई नगद १० हजार सहित प्रमाणपत्र प्रदान गरिएको छ । मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारको लागि कृषि विकास कार्यालय र पशु अस्पताल तथा पशु सेवा कार्यालयले सूचना जारी गरेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top