ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा झन्डै दुई हेक्टर क्षेत्रफलमा वृक्ष रोपण

  सरिता चलाउने २०७९ असार १४ गते मंगलबार १८:४०:०० मा प्रकाशित

सरिता चलाउने असार १४,सल्यान
सल्यानमा झन्डै दुई हेक्टर क्षेत्रफलमा सात सय बिरुवा रोपिएको छ । राष्ट्रिय वृक्ष रोपण वर्ष अभियानको शुरुवातमा जिल्लामा ७ सय बढी बिरुवा रोपिएको हो ।

वृक्ष रोपण गरी जैविक विविधताको संरक्षण गरौ, वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुर्‍याउ भन्ने नारा सहित मंगलबार (आज) देखि सुरु भएको राष्ट्रिय वृक्षरोपण वर्ष अभियानको अवसरमा शारदा नगरपालिका ८ मार्के नाउलाबजार क्षेत्रमा  बिरुवा रोपेर वृक्षरोपण वर्ष अभियानको सुरुवात गरिएको छ । 

डिभिजन वन कार्यालय सल्यानको आयोजना, पहाडी साना किसानका लागि अनुकुनल आयोजना आशा, पारिस्थितिकीय प्रणालीमा आधारित अनुकुलन आयोजना सल्यान र वनस्पति अनुसन्धान केन्द्र सल्यानको समन्वयमा भएको यस बर्षको वृक्षरोपण अभियानमा तेजपात,काउलो, रिठा लप्सी लगायतका करिब ७ सय बिरुवाको रोपिएको डिभिजन प्रमुख रमेश गिरी बताउनु भयो । 

बाढी पहिरो रोक्ने, मानिसलाई आवश्यक पर्ने अक्सिजन प्राप्त हुने, वातावरण संरक्षण तथा जैविक विविधतामा  सहयोग पुग्ने उद्देश्यले वृक्षरोपण वर्षको सुरुवात गरिएको उहाँले बताउनु भयो । बिरुवा रोप्ने मात्र नभएर संरक्षण गर्नका लागी सुरक्षित ठाउँमा रोप्ने र बिरुवा जोगाउन समुदाय जागरुक हुनुपर्ने बताउनु भयो । 

यस्तै शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले वृक्ष रोपण गर्नाले जैविक विविधता संरक्षणमा सहयोग पुग्नुका साथै, जिबजन्तुलाई समेत बाच्नको लागी हित हुने बताउनु भयो । डाँडापाखा जतिपनी खाली जमिन छन त्यसमा वृक्षरोपण गरे हराभरा हुनुका साथै बिभिन्न खाले प्राकृतिक प्रकोपलाई पनि कम गर्न सघाउ पुग्ने बताउनु भयो । मानिस जन्मे देखि मृत्यु सम्म अक्सिजनको आवश्यक पर्ने भएकाले वृक्षरोपण गर्नु नै पुण्यको काम भएको बताउनु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले वृक्ष रोपण गर्नाले वन जंगल हराभरा हुनका साथै वातावरण सन्तुलित हुनमा सहयोग पुग्ने बताउनु भयो । उहाँले बिरुवा रोप्ने मात्र नभएर जगेर्ना गर्न तर्फ पनि ध्यान दिनुपर्ने बताउनु भयो । कार्यक्रममा बिभिन्न सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधि, गैरसरकारी कार्यालय प्रमुख तथा प्रतिनिधि, सुुरक्षाकर्मी पत्रकार लगायतको  उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top