ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा अतिक्रमण गरी बनाइएका घर टहरा हटाइयो

  सरिता चलाउने २०७९ असार ८ गते बुधबार १८:४३:३० मा प्रकाशित

सरिता चलाउने असार ८,सल्यान 

सल्यानमा वन क्षेत्र अतिक्रमण गरी बनाइएका घर टहरा हटाइएको छ । डिभिजन वन कार्यालय सल्यानले कपुरकोट गाउँपालिका ३ को बजार क्षेत्रमा १० वर्ष देखि  वन क्षेत्र अतिक्रमण गरी बनाएका ९ वटा घर टहराहरू हटाएको हो ।

काफलनेटी सामुदायिक वन क्षेत्र भित्रको  ० दशमलव २९ हेक्टर क्षेत्रफलमा  अतिक्रमण गरी निर्माण गरिएका घर टहरालाई सशस्त्र  वन रक्षकको टोली परिचालन गरी  हटाइएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ   ।

कार्यालयबाट पटक पटक जग्गा खाली गर्नको लागी सूचना टाँस गरे पनि स्थानीयले अटेर गरेपछि  बाध्य भएर सुरक्षाकर्मीको सहयोग लिएर टहरा भत्काएको कार्यालयले जनाएको छ ।

गत जेठ ५ गते पत्राचार गरेको र २५ गते सूचना निकाले पनि बेवास्ता गरेपछि संरक्षणका लागि प्रहरी, प्रशासन र कपुरकोट गाउँपालिकाको सहकार्यमा सामुदायिक  वनमा अतिक्रमण गरी बनाएको टहरा भत्काएको डिभिजन वन प्रमुख रमेशकुमार गिरीले बताउनु भयो  । राप्ती राजमार्गको छेवैमा रहेको र हाल काफलनेटी सामुदायिक वनको स्वामित्वमा रहेको सामुदायिक  वनको  जग्गा  मासिने खतरा बढेकाले सुरक्षाकर्मी तथा डोजर प्रयोग गरेर टहरा भत्काएको उहाँले बताउनु भयो ।

बि.स २०७० साल अघि विद्यालयले उक्त जग्गा खारेर टहरो बनाई ३ वर्ष विद्यालय सञ्चालन गरेको थियो । विद्यालय नयाँ भवनमा सरेपछि केही आर्थिक सङ्कलन हुने नाममा मासिक १० हजार भाडामा विद्यालयले जागेश्वर गिरीलाई होटेल व्यवसाय गर्न अनुमति दिएको थियो । गिरीले होटेल सँगै बाँकी अन्य टहरा निर्माण गरी अरूलाई भाडामा लगाएका थिए । 

विद्यालयले भाडामा दिएपछि २०७० देखि होटेल व्यवसाय गर्दै आएको जागेश्वर गिरीले बताउनु भयो  । कालिका मा. वि  कपुरकोटका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मीनबहादुर सेनले सामुदायिक  वनको  जग्गा संरक्षणका लागि स्थानीयले बैठक बसेर विद्यालयलाई जिम्मा दिएको र अरू कसैले अतिक्रमण गरी दुरुपयोग नगरोस भनी जागेश्वर गिरीलाई भाडामा दिएको बताउनु भयो  ।

जिल्लाका अन्य क्षेत्रमा पनि क्रमैसँग कानुन अनुसार वन क्षेत्रमा अतिक्रमण गरी बनाइएका घरहरू हटाउँदै जाने समेत डिभिजन वन प्रमुख गिरीले बताउनु भयो   ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top