होमपेज / समाज
सरिता चलाउने चैत २३,सल्यान
सल्यानका ८४ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानले १५ महिनाभन्दा माथि र १५ वर्षभन्दा तलको उमेर समूहका ८४ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको हो । कार्यालयका अनुसार जिल्लाका १० वटै पालिकामा यही चैत्र २५ गतेबाट खोप अभियान सञ्चालन गरिने भएको छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यानले बुधवार टाइफाइड विरुद्ध खोप तथा नियमित खोपमा टाइफाइड खोपको सुरुवात सम्बन्धी खोप समन्वय समिति तथा जिल्ला स्थित क्रियाशील पत्रकारहरूलाई एक दिने खोप सम्बन्धी अभिमुखिकरण कार्यक्रमको आयोजना गरी १५ महिना देखि ४ वर्ष सम्मका १७ हजार ९ सय ८३ बालबालिकालाई एच एम आई एस अनुसार र ५ देखि १५ वर्ष सम्मका ६६ हजार ५३ बालबालिकालाई विद्यालयको तथ्यगत आधारमा टाइफाइड विरुद्ध खोप लगाई जानकारी गराएको हो ।
खोप लगाउनको लागि जिल्ला भर ४ सय ९ वटा खोप केन्द्र तोकिएको छ भने ५ सय ९० जना स्वास्थ्यकर्मी र १ हजार १ सय ३२ जना स्वास्थ्य स्वयम सेविका लाई खटाइने निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले बताए ।
उनका अनुसार चैत २५ गते देखि वैशाख ९ गतेसम्म खोप अभियान लगाइने छ ।शारदा नगरपालिकामा ‘चैत २५ गते देखि चैत ३० गते सम्म, बनगाड कुपिण्डे नगरपालिकामा चैत २७ गते देखि चैत्र २ गते सम्म, बागचौर नगरपालिकामा चैत २८ गते देखि वैशाख ४ गते सम्म टाइफाइड विरुद्धको खोप लगाइने भएको छ ।
यस्तै कालीमाटी गाउँपालिका, दार्मा गाउँपालिकामा चैत २५ गतेदेखि चैत ३० गते सम्म, त्रिवेणीमा चैत २७ गते देखि चैत २, कुमाख गाउँपालिकामा चैत २७ देखि वैशाख ४, छत्रेश्वरी गाउँपालिकामा चैत २७ देखि वैशाख २ गते सम्म, कपुरकोट गाउँपालिकामा वैशाख ४ देखि ९, सिद्धकुमाख गाउँपालिकामा वैशाख ३ देखि ८ गते सम्म खोप लगाइने श्रेष्ठको भनाई छ । एसइईलाई मध्यनजर गर्दै हरेक विद्यालयमा गएर स्वास्थ्यकर्मीले खोप लगाउने जानकारी दिए ।
अहिले सम्म जिल्लामा ६० हजार भाईल खोप आई सकेको र बाँकी आउने क्रममा रहेको निमित्त स्वास्थ्य व्यवस्थापन दशरथ श्रेष्ठले बताए।
बालबालिकामा टाइफाइड रोगको संक्रमण जोखिम बढेपछि सरकारले देशभर पहिलो पटक ७५ लाख बालबालिकालाई यो खोप लगाउन थालेको छ ।





.jpg)