ट्रेण्डिङ

होमपेज / समाज

बारीमै जाग्राम बस्छन् सल्यान काप्रेचौरवासी

  सरिता चलाउने २०७८ चैत्र १२ गते शनिबार १७:०१:३३ मा प्रकाशित

सरिता चलाउने चैत १२,सल्यान 

सल्यान कालीमाटी गाउँपालिका –७  काप्रेचौरकी भिमसरा बुढा वर्षौँदेखि बारीमै जाग्राम बसेर रात बिताउने गरेकी छन् । उनलाई बारीमा रात बिताउन रहर होइन बाध्यता हो । वर्षामा वर्षे बाली जोगाउन बारीमा रात बिताउन बाध्य छन् भने आजभोलि तरकारी र गहुँबाली जोगाउन बारीमा जाग्राम बस्छिन् । काप्रचौरकै टेक बहादुर विकको पिडा पनि भिमसरका भन्दा फरक छैन । उता गोठमा बाधेका बाख्रा बाघले खाइदिने गरेको छ । विशेष गरी निकुञ्ज क्षेत्र भित्र बस्ती भएकाले उनी दुई मात्र होईनन, यहाँका सयौँ किसान यसरी नै रात भरी बारीमा जाग्राम बस्ने गरेका हुन । 

बाँके राष्ट्रिय निकुञ्जमा बढ्दै गरेका जङ्गली जनावरका कारण बालीमा क्षति पुर्‍याउन थालेपछि सल्यान काप्रेचौरका मानिस बारीमै रात बिताउँदै आएका हुन । सरकारले २०६७ सालमा काप्रेचौरसम्मलाई बाँके राष्ट्रिय निकुञ्जमा समेटेपछि जङ्गली जनावरले हैरान बनाएका छन्  । बँदेल, बाँदर र दुम्सीले मकै, गहुँ बाली‚ फलफूल, तरकारीमा क्षति पुर्‍याउछन भने बाघले गोठ भित्रै आएर पशु बस्तु खाइदिने गरेको छ । 

वन्यजन्तुकै कारण अधिकांश स्थानीयले बाली लगाउन छोडेका छन्  । ‘बाली लगाएर के गर्ने ? पाक्ने बेलामा वन्यजन्तुको हुल आएर सबै बाली नष्ट गरिदिन्छ,’ स्थानीय निर्मला बुढाले भनिन, बाली लगाउँछौ तर जनावरले सखाप पारिदिन्छ, अव त उठिबास नै लाग्ला जस्तो भइसक्यो, वर्षभरि खान पुग्ने जग्गा बाँझो हुन थालेपछि बाहिरको खाद्यान्नको भर पर्नुपरेको छ ।

राष्ट्रिय निकुञ्ज सँगै मध्यवर्ती क्षेत्रमा पर्ने काप्रेचौर,  र्‍याङ, आम्बास, स्वयम्बास, कुसुमतरा, हाउखोला, बाटुले लगायतका स्थानीयले जङ्गली जनावर बाट क्षति बेहोर्नु परेको मध्यवर्ती वन उपभोक्ता समितिका अध्यक्ष डम्बर पुनले बताए । एकातिर निकुञ्जले वन जङ्गल र वन्यजन्तुको संरक्षण गरे पनि  अर्को तर्फ भने निकुञ्ज क्षेत्र भित्र बसोबास गर्ने स्थानीयले लगाएको बाली जोगाउन नसकेको उनले बताए । उनले भने बाघले समेत घरभित्रै पसेर गाई–बाख्रा मार्ने, मान्छेलाई समेत बारम्बार आक्रमणको प्रयास गर्ने गरेको छ । 

निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र वन्यजन्तुलाई हानी पुग्ने कुनै पनि गतिविधि गर्न नपाइने र यसको संरक्षण गर्नुपर्ने भएपछि वन्यजन्तुले नै मानव जीवनलाई प्रभावित बनाइरहेको छ ।  यस क्षेत्रमा  ५ सय बढी घर परिवार बसोबास गर्छन् । तर जङ्गली जनावरका कारण ती सबै प्रभावित भएका छन् । समस्याको दीर्घकालीन समाधान खोज्न स्थानीयले मागसमेत गरेका छन् । 

जङ्गली जनावरले प्रत्येक वर्ष बालीनालीमा क्षति गर्दै आए पनि क्षतिपूर्ति पाउन नसकेको किसान केशर बिसीको दुखेसो छ । रात पर्ने बित्तिकै बाघ आहारा खोज्दै बस्तीमा छिर्ने गरेको तर सम्बन्धित निकायले जङ्गली जनावरको सुरक्षा बढी गरेको, मान्छेको सुरक्षामा कुनै चासो नदिएको गुनासो गरे ।

 स्थानीय सरकारले पनि बालीनाली जोगाउन कुनै पनि किसिमको योजना ल्याउन नसकेका कालीमाटी गाउँपालिका ७ का वडा अध्यक्ष नैनसिंह रानाले बताए  । बालीनालीमा वन्यजन्तुले ठुलो क्षति पुर्‍याउने गरेका कारण सानो बजेटले तार जाली लगाउन नपुग्ने बताए  वडाबाट निकुञ्जमा बालीमा गरेको क्षतिको विवरण पठाए पनि कम मात्रामा राहत दिने गरेको उनको गुनासो गरे ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top