ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा सुन्तला सुक्न थालेपछि बारीमै पुगेर उपचार

  सरिता चलाउने २०७८ फाल्गुण २६ गते बिहीबार १६:५७:०३ मा प्रकाशित

२०७८ फाल्गुण २६सल्यान 

सल्यानमा रोगका कारण सुन्तला मासिन थालेपछि कृषि विकास कार्यालयले किसानको बारीमै पुगी उपचार गर्न थालेको छ । पात पहेँलो हुने, जरा कुहिने र टुप्पोबाट सुकेर बोट नै उजाड हुने रोगले सुन्तला सुक्न थालेपछि कार्यालय किसानको बारीमै पुगेर उपचार गर्न थालेको हो । 

सुन्तला उत्पादन पकेट क्षेत्रका रुपमा रहेको साबिकको कोटमौलाका बगैँचामा पुगेर रोगको पहिचान र हुन सक्ने क्षतिलाई रोक्न उपचार थालिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । सुन्तलामा लाग्ने सबै रोगलाई सिट्रस ग्रिनिङ भन्न नसकिने कार्यालय प्रमुख भरत बस्नेतले बताए । जलवायु परिवर्तनको असर, सूक्ष्म तत्त्वको कमी, मल तथा विषादीको सही प्रयोग नहुँदा पनि यस प्रकारको समस्या देखिन सक्ने उनको भनाई छ । पहिलो चरणमा कोटमौलाबाट उपचार सुरु गरिएको कार्यालयले जनाएको छ । 

सुन्तलामा लागेको रोगको प्रकृति हेर्दा सिट्रस ग्रिनिङ रोगको लक्षण देखिएको उनको भनाई छ । यसको उपचार विधि नभए पनि नियन्त्रण भने गर्न सकिने उनको भनाई छ । यो रोग कलमी गर्दा र सिट्रस सिल्ला किराले सार्ने भएकाले रोगी बिरुवालाई जलाउनु नै उत्तम उपाय हुने बस्नेतको भनाई छ । 

सिट्रस ग्रिनिङ रोगका कारण हो या अन्य कुनै कारण सुन्तलाका बोट सुकी रहेका छन् त्यसबारे उपचार भइरहेको कार्यालयले जनाएको छ । जिल्लामा रोगका कारण कति हेक्टरमा क्षति पुगेको छ भन्ने यकिन तथ्याङ्क नभए पनि जिल्लाका अधिकांश स्थानमा रोगका कारण सुन्तला सुक्दै जान थालेका छन् । 

जिल्लामा १ हजार ५ सय ४५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आइरहेको छ ।   

प्रतिक्रिया

सम्बन्धित खवर

Top