ट्रेण्डिङ

होमपेज / समाज

अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन हुने गरी कार्यक्रम बनाउन जोड

  सरिता चलाउने २०७८ फाल्गुण ६ गते शुक्रबार १७:१२:०८ मा प्रकाशित

अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन हुने खालका कार्यक्रम ल्याउन सरोकारवाला निकायलाई किसानले आग्रह गरेका छन् । तत्काल रासायनिक मलको प्रयोग पूर्ण रूपमा बन्द गर्न सक्ने अवस्था नरहे पनि यसलाई बिस्तारै कम गर्न जैविक मलमा अनुदानको कार्यक्रम अघि बढाउनु पर्ने किसानको जोड रहेको छ । 

शुक्रवार सल्यान खलङ्गामा आयोजित रासायनिक मलको प्रयोगमा न्यूनीकरण गर्न तथा प्राङ्गारिक मलको उत्पादन र प्रयोग वृद्धि गर्दै लैजान आवश्यक कार्यक्रम ल्याउन किसान आग्रह गरेका हुन । प्राङ्गारिक कृषि प्रवर्द्धन तथा रैथाने बाली संरक्षण दिवसमा किसानहरूले यस्तो आग्रह गरेका हुन । रासायनिक मलको अन्त्य एकै पटक सम्भव नभएकाले जैविक मलमा अनुदान र अर्गानिक कृषिजन्य वस्तुको सहज बजारीकरण गर्न आवश्यक रहेको किसान प्रेम खड्काले बताए । अर्गानिक खेतीमा जोखिम बढी हुने र उत्पादन पनि कम हुने भएकाले अन्य कृषिजन्य बस्तुसँग प्रतिस्पर्धा गर्न गाह्रो भएको बताए । 

अर्गानिक खेती गर्दा कम उत्पादन हुने हुँदा किसान मारमा पर्ने अर्का किसान लाल बहादुर नेपालीले बताए । अर्गानिक वस्तु उत्पादन गर्न लागत बढी पर्ने र बजारमा अर्गानिक वस्तु बजारीकरण गर्न निकै समस्या हुने गरेको उनको भनाई छ । किसान तथा व्यापारी किरा लागेको, बांगोटिंगो भए तरकारी बिक्री नहुने गुनासो गर्छन् । तर अर्गानिक तरकारीमा किरा लागेकै हुन्छ । अर्गानिक खेतीप्रति किसानलाई जनचेतना फैलाउन र सरकारी स्तरबाट पनि विशेष पहल नहुँदा केही निराशा देखिएको उनको बुझाइ छ ।

बजारमा भने अर्गानिक तरकारी बेच्न दुःख हुने गरेको किसान लुब्ध कृष्ण भट्टराईले बताए । जनमानसमा हेर्दा राम्रा, किरा नलागेका र आकर्षक तरकारी खोजी हुने हुँदा अर्गानिक तरकारीले खासै स्थान नपाउने उनको अनुभव छ ।

यदि अर्गानिक बाली गर्ने किसानलाई केही प्रतिशत छुटको व्यवस्था भयो भने पनि धेरैको आकर्षण बढ्ने जिल्ला समन्वय समितिका उपप्रमुख हरि प्रकाश बुढाथोकीले बताए । ‘व्यक्तिले भन्दा पनि राज्यले नै नीति बनाएर अर्गानिक खेतीमा प्रोत्साहनका कार्यक्रम ल्याउन जरुरी देख्छु,’ उनले भने ।

पछिल्लो समय सहरी क्षेत्रमा रैथाने बाली र अर्गानिक वस्तुको माग बढ्दै गएको कृषि विकास कार्यालय सल्यानका प्रमुख भरत बहादुर बस्नेतले बताए । किसानलाई एकै पटक रासायनिक मल त्यागेर अर्गानिक खेती गर भन्न नसकिए पनि चेतनाको विकासले अर्गानिक खेती गर्ने किसानहरूको सङ्ख्यामा वृद्धि आइरहेको उनको भनाई छ ।

 अर्गानिक खेतीमा राज्यको नै न्यून प्राथमिकतामा पर्नु, किसानहरूमा परेको भ्रमको निवारण गर्न नसक्नु, अर्गानिक र रैथाने बाली प्रति किसानको चेतनाको विकास नहुनु लगायतका कारण अर्गानिक र रैथाने बालीको प्रवर्द्धन हुन नसकेको बस्नेतको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top