होमपेज / समाज
इन्द्र बुढाथोकी पुस १६,सल्यान
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका दर्जन बढी ग्रामीण सडकहरू अझै मर्मत हुन सकेका छैनन् । वर्षात सकिएको झन्डै पाँच महिना बितिसक्दा समेत नगरपालिकाका धेरै जसो ग्रामीण सडकहरू सञ्चालनमा आउन नसकेका हुन ।
नगरपालिका भित्र विभिन्न वडामा जाने दर्जनौँ ग्रामीण सडक खोल्ने तर्फ स्थानीय सरकार बेखबर बनेको स्थानीयको आरोप लगाएका छन् । वर्षातको समयमा अवरुद्ध भएको ग्रामीण सडक अर्को वर्षा लाग्ने समय भइसक्दा समेत स्थानीय सरकारले सडक खुलाउनेतर्फ चासो नदिएको स्थानीयले गुनासो गरेका छन् ।
नगरपालिका केन्द्रबाट वडा कार्यालयमा जाने ग्रामीण सडकहरू सल्लीबजार –बामे सडक, देवस्थल– कारागाँउ –बामे –राइरा सडक, गर्चे– देउली –डोप्के –काफलपानी सडक, च्युरा सडक, सितलनेटा –लाखर सडक, सल्ली –दुरुमखोला सडक, सेरा –सोरा– ढोरपिपल सडक, बयालडाँडा– मैदुपोखरी सडक लगायत दर्जनौँ ग्रामीण सडक अवरुद्ध भएको लामो समय भइसक्दा समेत अझै मर्म सम्भार हुन सकेको छैन ।
सडकहरू मर्मत गर्न नगर सभाबाट बजेट छुट्याए पनि काम नभएको बनगाड कुपिण्डे नगरपालिका –२ का वडाध्यक्ष प्रतिमल बुढाले बताए । नगर सभा ढिलो गरी भएको र त्यसमा पनि प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर जाँदा योजना सम्झौता हुन नसक्दा समयमै ग्रामीण सडक मर्मत सम्भार हुन नसकेको उनको भनाई छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रबहादुर रावतेले बजेटको व्यवस्था गरे पनि केही प्राविधिक समस्याका कारण मर्मतमा ढिलाइ भएको बताएका छन् ।केही वडासम्म जाने ग्रामीण सडक मर्मत भइसकेको बताउँदै उनले बाँकी सडकहरू पनि चाँडै मर्मत गरिने बताए ।
सडक अवरुद्ध भएको लामो समय भइसक्दा समेत सडक मर्मत सम्भार नहुँदा वडा कार्यालय तथा नगरपालिका बजार र सदरमुकाम पुग्न दुई तीन घण्टा हिँड्नुपर्ने बाध्यता रहेको स्थानीय डिलबहादुर बोहराले बताए ।
नगरपालिकालाई सडक मर्मत सम्भारका लागि पटक पटक अनुरोध गर्दा पनि आश्वासन मात्र पाउने गरेको उहाँको गुनासो छ ।





.jpg)