होमपेज / समाज
दीपक शर्मा पुस ४,सल्यान
समाजमा अपराधिक तथा अप्रिय घटना नियन्त्रण गर्न भन्दै जिल्ला प्रहरी कार्यालय सल्यानले टोल सुधार समिति अभियान सञ्चालन गरेको छ । प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समाजमा हुने अपराधिक घटनामा कमी ल्याउने उद्देश्यका साथ टोल टोलमा पुगी समिति गठन गर्न अभियान नै सञ्चालन गरिएको हो ।
समाजमा हुने सबै खाले अपराधिक घटना तथा घरेलु हिंसा न्यूनीकरण गर्न प्रहरी र नागरिक बिच सहकार्यका लागि टोल सुधार समिति गठन गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले बताउनु भयो । उहाँका अनुसार समाजमा हुने घटनामा कमी ल्याउन र यदि भई हालेमा पनि बाहिर ल्याउन र पीडितलाई न्याय दिलाउन सकोस् भन्ने सोचका साथ टोल सुधार समिति गठन गरिएको छ । उनले भन्नु भयो ‘दीर्घकालीन रुपमा हेर्दा बेरोजगारी, अशिक्षा र अल्पकालीन रुपमा मदिराका कारण समाजमा अपराधिक क्रियाकलाप बढी रहेको देखिएपछि त्यसको नियन्त्रण गर्न समिति गठन गरिएको हो ।’
यही पुस २० गतेसम्म जिल्लाका सबै टोलमा पुगी प्रहरीले टोल सुधार समिति गठन गरी सक्ने जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिनु भयो ।
उक्त समितिले प्राकृतिक विपद् देखि अपराधिक क्रियाकलाप नियन्त्रण तथा न्यूनीकरण गर्ने प्रहरीको भनाई छ । एक टोलमा १० सदस्यीय समिति हुने कार्यालयले जनाएको छ । जिल्लामा प्रहरीका ३८ युनिट रहेको र उक्त ३८ वटै युनिट अहिले गाउँ बस्तीमा पुगे टोल सुधार समिति गठन गरी रहेको प्रहरी प्रमुख खड्काले बताउनु भयो । उहाँले भन्नु भयो ‘प्रहरीले मुख्यतया तीन काम गर्छ पहिलो अनुसन्धान जो प्रहरीले मात्र गर्छ । दोस्रो सुरक्षा र तेस्रो सचेतनामूलक कार्यक्रम । तेस्रो कार्यक्रम अन्तर्गत गाउँ ठाउँमा पुगी जनतालाई चेतना अभिवृद्धिका कार्य गरी रहेका छौँ ।’
प्रहरी गाउँ गाउँमा गई नागरिक मैत्री कार्यक्रम सञ्चालन गर्न सके प्रहरी र नागरिक बिचको सम्बन्ध अझ बलियो हुने बागचौर नगरपालिका – ५ की वडा सदस्य लक्ष्मी वि.कले बताउनु भयो । समुन्नत समाज निर्माण गर्न समुदाय र प्रहरीको महत्त्वपूर्ण भूमिका रहने उहाँको भनाई छ ।





.jpg)