होमपेज / समाज
सरिता चलाउने असोज १५,सल्यान
बिभिन्न कार्यक्रम गरी सल्यानमा पनि ३१ औ ज्येष्ठ नागरिक दिवस मनाइएको छ । शारदा नगरपालिका सल्यानको आयोजना र ज्येष्ठ नागरिक जिल्ला सङ्घ सल्यानको सह आयोजनामा भएको सल्यान खलङ्गामा आयोजित कार्यक्रममा ज्येष्ठ नागरिकहरूले पछिल्लो समय ज्येष्ठ नागरिकलाई हेर्ने दृष्टिको फरक भएको बताएका छन् ।
राज्यले ज्येष्ठ नागरिकका लागि अधिकार र सुविधा दिए पनि त्यसको सही कार्यान्वयन नहुँदा सुविधा भन्दा बढी ज्येष्ठ नागरिकले सास्ती भोग्दै आएको बताएका छन् । ३१ औ ज्येष्ठ नागरिक दिवसको अवसरमा शारदा नगरपालिको आयोजना र ज्येष्ठ नागरिक जिल्ला सङ्घ सल्यानको सह आयोजनामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले राज्यले दिएको व्यवस्थाको अक्षरशः पालना हुनु पर्ने बताएका हुन ।
कार्यक्रममा बोल्दै ज्येष्ठ नागरिक देवराज आचार्यले सरकारले ज्येष्ठ नागरिकहरूलाई सार्वजनिक यातायातका क्षेत्रमा भाडा छुट गर्ने, सिटको व्यवस्था गर्ने भनिए पनि त्यो लागु हुन नसकेको बताए । ज्येष्ठ नागरिक परिवारका सदस्य मात्र नभएर समाज र देशका अभिवावक मानिए पनि राज्यले दिएको सेवा सुविधा उपभोग गर्न नसकेको उनको गुनासो रहेको छ ।
ज्येष्ठ नागरिक जिल्ला संघका उपाध्यक्ष त्रिपुरा शाहले पछिल्लो समय छोराछोरीले समेत हेर्ने नजर फरक भएका कारण ज्येष्ठ नागरिकलाई दिन बिताउन गाह्रो भएको बताइन । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताले सहज बनाएको र सदुपयोग गर्न जान्नु पर्ने उनको भनाई छ ।
यस्तै कार्यक्रममा बोल्दै पदमा शाहले धेरै ज्येष्ठ नागरिकहरू संविधानमा नै उल्लेख गरिएको सेवा सुविधाबाट वञ्चित भइरहेको बताइन । उनले राज्यले दिने गरेको सेवा सुविधा सहजै रुपमा पाउन, पर्ने र स्थानिय सरकारले पनि ध्यान दिनुपर्ने बताइन ।
शारदा नगरपालिकाका अधिकृत प्रमुख प्रशासकीय अधिकृत लिलाधर बवालले ज्येष्ठ नागरिकहरू प्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनु पर्ने बताए। सरकारकारले ज्येष्ठ नागरिकहरूका लागि धेरै सेवा सुविधा दिएकोले अन्यायमा परेमा आवाज उठाउने ठाउँ भएको बताए । यस्ता दिवसले एक आपसमा भेट् हुने ठाउँ जुराउनुका साथै सुख दुख साटने माध्याम बनेको उनको भनाई छ । शारदा नगरपालिकाले ज्येष्ठ नागरिकहरूलाई हरेक चाड पर्वमा दुई हजार रुपैयाँ चाड पर्व खर्च र न्यानो कपडा वितरण गरिँदै आइरहेको बवालको भनाई छ ।





.jpg)