होमपेज / समाज
इन्द्र बुढाथोकी,भदौ ३१सल्यान ।
घुमन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायको स्वास्थ्य परीक्षण गरिएको छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका १ देवस्थलको घाटगाउँमा बस्दै आएका राउटेको बिहीबार स्वास्थ्य परीक्षण गरिएको हो ।
राउटे समुदायमा स्वास्थ्य समस्या देखिए पछि राउटे संरक्षण उत्थान प्रमुख सत्यदेवी अधिकारीको आग्रहमा स्वास्थ्य परीक्षण गरिएको हो । स्वास्थ्य परीक्षणका क्रममा राउटे समुदायमा छाला सम्बन्धी समस्या, घाउ, चोटपटक र पाचन प्रणालीसँग सम्बन्धित समस्याहरू देखिएको देवस्थल स्वास्थ्य चौकी इन्चार्ज भुमा बुढाथोकीले जानकारी दिइन । स्वास्थ्यकर्मीको टोलीले ९८ वर्षका वृद्ध सहित २५ जना राउटे समुदायको स्वास्थ्य जाँच गरेको छ ।
चेकजाँचका क्रममा राउटे समुदायका बालबालिकामा छाला सम्बन्धी चिलाउने रोग, खोकी ज्वरो लगाएको समस्या देखिएको र राउटेहरू आफै औषधि मागेर खाने गरेकाले चेकजाँच सहज भएको स्वास्थ्यकर्मी कमल खड्काले बताए । विशेष गरी खाना, खानेपानी , वासस्थानको, सरसफाइ, बसाइसराई लगायतले यस्तो समस्या देखा परेको उनको भनाई छ ।
भदौ ५ गते सल्यानको कालीमाटी गाउँपालिका –५ को काल्चेडाँडाबाट सुर्खेतको गुर्भाकोट नगरपालिकामा राउटे समुदाय बसाइ सरेका थिए । सल्यान र सुर्खेतको सिमाना गुर्भाकोट नगरपालिका –१ सिमसारमा बस्दै आएका राउटे समुदाय भदौ २५ गते सल्यानको बनगाड कुपिण्डे नगरपालिका –११ बालुवासँग्रही भेरी नदी किनार बाङ्गिरहमा बस्दै आएका थिए । राउटेहरुलाइ त्यहाँ खानेपानी समस्या भए पछि अहिले घाटगाउ चौरमा बस्दै आइरहेका छन् ।





.jpg)