ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा एक वर्षमा ६ किलोमिटर पक्की सिँचाई कुलो

  दिपक शर्मा २०७७ श्रावण २० गते मंगलबार १४:५४:३० मा प्रकाशित

दिपक शर्मा साउन २०, सल्यान 

कृषि विकास कार्यालय सल्यानले गत आर्थिक वर्ष २०७६/०७७ मा ६ किलोमिटर भन्दा बढी सिँचाई कुलो निमार्ण एवं मर्मत गरेको छ । 

कार्यालयका अनुसार गत आ.व.मा ६ हजार ८ सय ८६ मिटर सिँचाई कुलो निमार्ण एवं मर्मत गरिएको छ । सिँचाई कुलो निमार्ण भएपछि तरकारी खेती, अन्य अन्नबालीमा सिँचाई गर्न सजिलो भएको किसानहरुको भनाई छ । 
३ करोड ७४ लाख ७३ हजार एक सय रुपैयाको लागतमा २५ वटा सिँचाई योजना सम्पन्न भएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम बहादुर बस्नेतले बताए ।

 निमार्ण भएका सिँचाई कुलोबाट ५ सय ८९ हेक्टर क्षेत्रफलमा सिँचाई पुगेको उनको भनाई छ । उनले भने ‘नयाँ कुलोले १ सय २९ हेक्टर र बाँकी मर्मत गरिएको कुलोले ४ सय ६० हेक्टर क्षेत्रफल जमिनमा सहज तरिकाले सिँचाई सुविधा पुगेको छ ।’ 
किसानलाई कृषिप्रति आकर्षित गर्न सिँचाईमा जोड दिइएको उनको भनाई छ । सिँचाई सुविधाबाट गाउँमा कृषिको व्यवसायिकरणमा पनि टेवा पुग्ने बस्नेतको भनाई छ । 
   स्थानीय खोलाको पानी पक्की कुलो निमार्ण गरेर खेतसम्म पुगेको कालिमाटी गाउँपालिका ३ साजगैराका रातो बस्नेतले बताए । उनले भने ‘कच्ची कुलोमा पानी बिचमै हराउने, कुलो भत्किने समस्या थियो तर ४ सय ८५ मिटर कुलो पक्की भएपछि सिँचाईमा निकै सहज भएको छ ।’ 

यस्तै बनगाड कुपिण्डे नगरपालिका २ लाहाघाटमा पनि चैतुवा कृषि सिँचाई योजना सम्पन्न भएको छ । सिँचाई कुलो निमार्ण पछि २ सय रोपनी जग्गामा सिँचाई सुविधा पुगेको कृषक शंकर प्रसाद शर्माले बताए । ५० लाखको लागतमा झन्डै एक किलोमिटर टाढाबाट पानी ल्याई सिँचाई गरिएको उनले बताए । मौसमी बाली लगाउन बाध्य किसान सिँचाई निमार्ण भएपछि अन्नबालीका साथै तरकारी खेतीमा आकर्षित भएको शर्माको भनाई छ । 

पक्की सिँचाई कुलो निमार्ण भएपछि मौसमी तथा बेमौसमी तरकारी खेती गर्न निकै सहज भएको कपुरकोट गाउँपालिका ५ का किसान कुल बहादुर पुन मगरले बताए । उनले भने ‘कपुरकोट एरिया भनेको मौसमी तथा बेमौसमी तरकारी खेतीका लागि प्रख्या ठाउँ हो । वषौं देखि सिँचाईको अभाव झेल्दै आइरहेका थियौं सिँचाई कुलो बनेपछि उत्पादन पनि बढ्ने अनुमान गरेका छौं ।’ 

आर्थिक वर्ष २०७५/०७६ मा सल्यानमा ११ वटा सिँचाई योजना अन्र्तगत ५ किलोमिटर पक्की सिँचाई कुलो निमार्ण गरिएको थियो । २ करोड २२ लाखको लागतमा निमार्ण भएको कुलोबाट २३ हेक्टर जमिन सिन्चित हुदै आइरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top