ट्रेण्डिङ

होमपेज / खेलकुद

छत्रेश्वरीमा अध्यक्ष कप तथा रनिङ शिल्ड सुरु

  सल्यान खबर डेस्क २०८२ पौष २१ गते सोमबार २०:१८:१२ मा प्रकाशित

सल्यान, २१ पुस । 
सल्यानको छत्रेश्वरी गाउँपालिकामा सोमबारदेखि अध्यक्ष कपको पाँचौँ संस्करण तथा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । शारदा माध्यमिक विद्यालय शंखमुलको खेल मैदानमा कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

बिहीबारसम्म चल्ने अध्यक्ष कप र आठौँ राष्ट्रपति रनिङ शिल्ड अन्तर माध्यमिक विद्यालय खेलाडी छनौट प्रतियोगितामा ८३० जना बढी विद्यार्थी, खेलाडी तथा प्रतियोगीहरूले प्रतिस्पर्धा गर्नेछन् । अध्यक्ष कप अन्तर्गत पुरुष र महिला तर्फ विभिन्न खेल तथा सांस्कृतिक कार्यक्रमहरूमा करिब ११५ जना प्रतियोगीहरूले भाग लिएको प्रतियोगिताको सचिवालयले जनाएको छ । अध्यक्ष कपमा पुरुष तर्फ पुरुष भलिबल र ब्याडमिन्टन प्रतियोगिता र महिला तर्फ कुर्सी दौड र एकल लोकगीत प्रतियोगिता राखिएको छ । 

यस्तै राष्ट्रपति रनिङ शिल्ड अन्तर माध्यमिक विद्यालय खेलाडी छनौट प्रतियोगिता अन्तर्गत भलिबल, कबड्डी, एथलेटिक्स तथा मार्सल आर्ट अन्तर्गतका विभिन्न खेलहरूमा करिब ७१६ जना विद्यार्थी खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगिता उद्घाटन कार्यक्रममा बोल्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले खेलकुदले खेलकुद अनुशासन, नेतृत्व र सहकार्यको अभ्यास हुने क्षेत्र भएकाले यस क्षेत्रको विकासमा जोड दिनुभयो । उहाँले प्रदेश सरकारको तर्फबाट शिक्षा, पर्यटन लगायत पालिकाको समग्र विकासमा कानुनसम्मत सहयोगको प्रतिबद्धता जनाउनुभयो । 

कार्यक्रममा गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले आफुँहरुले शिक्षा, युवा तथा खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रमहरू सञ्चालन गर्दै आएको भन्दै प्रतिभावान् खेलाडीलाई आवश्यक सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्रिवेणि गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले खेल, कला, संस्कृतिको माध्यमबाट समाज परिवर्तनको आवश्यकता औँल्याउनुभयो । 

उपाध्यक्ष बुद्ध कुमारी खत्रीले खेलकुदले विद्यार्थीहरूमा आत्मविश्वास, अनुशासन र प्रतिस्पर्धी भावना विकास गर्ने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकी, गाउँपालिकाका प्रथम निर्वाचित उपाध्यक्ष सीता केसी, वडा नम्बर ३ का वडा अध्यक्ष तीर्थराज दाहाल, कार्यपालिका सदस्य तुलसा विकले खेलकुद पूर्वाधार विकास र विद्यालय स्तरीय खेल गतिविधि प्रवर्द्धनमा जोड दिँदै स्थानीय तह, विद्यालय र अभिभावकबिच सहकार्य भएमा उत्कृष्ट खेलाडी उत्पादन सम्भव हुने धारणा राख्नुभयो ।

यस्तै समाजसेवी डिल्लीराज रेग्मी, नेकपा एमालेबाट नेव बहादुर खड्का, राप्रपाबाट शिला बुढाथोकी, नेकपा माओवादीबाट शेर बहादुर खड्का, शारदा माविका विव्यस अध्यक्ष लोकमणि रेग्मी, प्र जित बहादुर भण्डारी, नेपाल पत्रकार महासङ्घ सल्यानका कोषाध्यक्ष खगेन्द्र केसी लगायतले बोल्दै खेलकुदलाई सबैको साझा विषयका रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै युवालाई कुलत र नकारात्मक क्रियाकलापबाट टाढा राख्न खेलकुद प्रभावकारी माध्यम हुने बताउनुभयो । 
कार्यक्रमका सहभागीहरूले यस्ता प्रतियोगिताले विद्यार्थीको प्रतिभा उजागर हुने, विद्यालयबिच आपसी सम्बन्ध सुदृढ हुने र शैक्षिक वातावरण सकारात्मक बन्ने बताउनुभएको थियो । 
पालिका स्तरमा खेलकुदको विकास, युवाहरूको प्रतिभा पहिचान तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले छत्रेश्वरी गाउँपालिकाले अध्यक्ष कप खेलकुद प्रतियोगितालाई निरन्तरता दिँदै आएको छ । कार्यक्रमको सञ्चालन प्रशासकीय अधिकृत जीवराज केसीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top