होमपेज / खेलकुद
सल्यान, १७ पुस ।
सल्यानको छत्रेश्वरी गाउँपालिकामा अध्यक्ष कपको पाँचौ संस्करण तथा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता यही पुस २१ देखि सुरु हुने भएको छ ।
शारदा माध्यमिक विद्यालय शंखमूलको प्राङ्गणमा पुस २४ गतेसम्म विभिन्न खेलकुद प्रतियोगिताहरु सञ्चालन हुनेछन् । पालिकास्तरमा खेलकुदको विकास, युवाहरुको प्रतिभा पहिचान तथा स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले छत्रेश्वरी गाउँपालिकाले अध्यक्ष कप खेलकुद प्रतियोगितालाई निरन्तरता दिँदै आएको छ ।
अध्यक्ष कप र आठौँ राष्ट्रपति रनिङ शिल्ड अन्तर माध्यमिक विद्यालय खेलाडी छनौट प्रतियोगिता एकसाथ सञ्चालन हुन लागेको गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले जानकारी दिए । अध्यक्ष कप अन्तर्गत पुरुष र महिला तर्फ विभिन्न खेल तथा सांस्कृतिक कार्यक्रमहरू समावेश गरिएको छ । पुरुष तर्फ पुरुष भलिबल र व्याडमिन्टन प्रतियोगिता सञ्चालन हुनेछ । महिला तर्फ कुर्सी दौड प्रतियोगिता र एकल लोकगीत प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा गाउँपालिका भित्रका सबै वडाहरूको सहभागिता रहने शिक्षा, युवा तथा खेलकुद विकास शाखाले जनाएको छ ।
यसैगरी राष्ट्रपति रनिङ शिल्ड अन्तर माध्यमिक विद्यालय खेलाडी छनौट प्रतियोगिता अन्तर्गत भलिबल, कबड्डी, एथ्लेटिक्स तथा मार्सल आर्ट अन्तर्गतका विभिन्न खेलहरूमा प्रतिष्पर्धा हुने प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीले बताए । यस प्रतियोगितामा कक्षा १२ सम्म नियमित रुपमा अध्यनरत १८ वर्षमुनीका छात्र छात्रा सहभागि बन्नेछन् । अध्यक्ष कप र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले गाउँपालिकामा खेलकुद संस्कृतिको विकास, विद्यार्थी तथा युवाहरूको प्रतिभा उजागर र स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने गाउँपालिकाको अपेक्षा छ ।





.jpg)