होमपेज / खेलकुद
सल्यान, १ फागुन ।
सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ मा छैठौं वडा अध्यक्ष कप सुरु भएको छ । मंगलबार छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले जनता माध्यमिक बिद्यालय, बुरासेटाकुरीमा आयोजित समारोहमा वडा अध्यक्ष कपको उद्घाटन गरेका हुन् ।
विहिबार सम्म संचालन हुने कपमा भलिवल, रस्साकस्सी, हाजिरिजवाफ, शब्द मेमोरी, दौड, हाइजम्प, लंग जम्प, त्रीपल जम्प लगायतका प्रतियोगिता एवम् कृषि, पशु प्रदर्शनी रहने वडा अध्यक्ष प्रेम बहादुर नेपालिले जानकारी दिए । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बुढाथोकीले हरेक वडा स्तरमा खेलकुदका गतिविधि बढेको देख्दा खुसी लागेको उल्लेख गरे । खेल गतिविधि र यो क्षेत्रमा लगानी बढेसंगै छत्रेश्वरी गाउँपालिकाले जिल्ला स्तरिय खेलमा ऐतिहासिक सफलता पाएको भन्दै खेलकुदको महत्वलाइ सबैले बुझ्नुपर्ने बताए । यस्तै गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले खेल क्षेत्रसंगै विभिन्न क्षेत्रमा गाउँपालिकाले तदारुकताका साथ काम गरिरहेको बताइन् ।
कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष प्रकाश हमाल, गाउँपालिकाका निवर्तमान उपाध्यक्ष सीता केसी, वडा नम्बर २ का निवर्तमान वडा अध्यक्ष प्रेम बहादुर खड्का, राजनीतिक दलका प्रतिनिधि लगायतले मन्तव्य राख्दै प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा वडा कार्यालयले सहिद परिवारका सदस्यहरुलाइ सम्मान गरेको थियो । कार्यपालिका सदस्यहरु बसन्ता जिसि, पवित्रा डांगी, बिद्यालयका प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार लगायतको पनि कार्यक्रममा सहभागिता रहेको थियो । उद्घाटन कार्यक्रममा विभिन्न समुहले मौलिक कला संस्कृति झल्कने सांस्कृतिक प्रस्तुती राखेका थिए भने बिद्यालयका बालबालिकाको पनि प्रस्तुति रहेको थियो । वडा सदस्य लाल बहादुर वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन रमेश बरायलीले गरेका थिए ।