ट्रेण्डिङ

होमपेज / खेलकुद

आज घरेलु मैदानमा पहिलो एकदिवसीय क्रिकेट

नेपाललाई साख जोगाउने चुनौती

  सल्यान खबर डेस्क २०७६ माघ २२ गते बुधबार ०७:४३:३६ मा प्रकाशित

माघ २२, २०७६ काठमाडौं :  नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो घरेलु भूमीमा बुधबार ऐतिहासिक क्रिकेट प्रतियोगिता खेल्दैछ। परिचित प्रतिद्वन्द्वी ओमान विरुद्ध टीयु क्रिकेट मैदानमा उत्रँदै गर्दा नेपालका लागि यो प्रतियोगिता किन पनि यति धेरै अर्थपूर्ण भने पहिलो पटक नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछिको घरेलु मैदानमा त्रिकोणात्मक श्रृंखला खेल्न लागेको हो।

त्यसैले यो एकदिवसीय प्रतियोगिता नेपालका लागि केवल एउटा खेलमात्र होइन, एक इतिहासका रुपमा समेत दर्ज हुने छ। सन् २००६ मा म्यानमार विरुद्ध भएको खेल हेर्न टीयू मैदान पुगेका नेपाली क्रिकेट समर्थक। सो खेलमा म्यानमारलाई १० रनले हराउनले क्रममा नेपालका मेहबुब आलमले ७ विकेट लिँदै गिनिज विश्व रेकर्ड बनाएका थिए। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले डेढ वर्षअघि नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता दियो। तर यो बीचमा नेपाली राष्ट्रिय टिमले सीमित एकदिवसीय खेलहरु खेल्यो। डेढ वर्षमा पहिलो पटक आफ्नो मैदानमा एकदिवसीय प्रतियोगिता खेल्दै गर्दा घरेलु टोली नेपाललाई मैदानमा साख जोगाउनुपर्ने चुनौती छ। भोलिदेखि आइसिसी वर्ल्डकप लिग-२ त्रिकोणात्मक शृंखला आईसीसी एकदिवसीय विश्वकप यात्राको पहिलो पाइलाको रुपमा समेत यो प्रतियोगितालाई लिइएको छ। आईसीसी विश्वकप डिभिजन–२ को तीनवर्षे यात्रामा नेपालले ठूलो लक्ष्य लिएको छ। जहाँ नेपाल शीर्ष दुईमा रहँदै सोझै विश्वकप छनोटमा स्थान बनाउने उद्देश्यमा केन्द्रित छ। तर यो प्रतियोगिता घरेलु भूमीमा भएपनि जित्न भने सहज छैन।  बन्द प्रशिक्षणकै भर नेपाली राष्ट्रिय टिमले पर्याप्त एक्सपोज पाउन नसक्दा लामो समय पछि मैदानमा एकदिवसीय खेल खेल्दै छ।

एकदिवसीय खेलनै नेपालका लागि विरानो बन्दै गएको अवस्थामा टियू मैदानमा हुने खेलले एउटा रौनक ल्याउने आंकलन गरिएको छ। तर, खेलमा कमजोर प्रदर्शन भए घरेलु मैदानमै नेपाली टोलीको मजाक नहोला भन्न सकिन्न। पुरानो प्रतिद्वन्द्वी अमेरिकाले आफूलाई परिष्कृत गर्दे आएको दावी गर्दा ओमान पनि नेपाल विरुद्ध हावी हुने खतरा छ। तर नेपाल भने ५० ओभरको यो खेलमा आफ्नै मैदानमा आफुलाई नौलो महसुस गर्ने छ। किनकी नेपाली टिमले यहि प्रतियोगिताका लागि कुनैपनि टिमसँग अन्तर्राष्ट्रिय 'एक्सपोज' लिएको छैन। साथै कीर्तिपुर मैदानमा अभ्यास समेत गर्न पाएको छैन। गत २४ पुसबाटै बन्द प्रशिक्षण शुरू गर्ने तयारी गरिए पनि टी–२० प्रतियोगितामै व्यस्त भएपछि खेलाडीहरू निकै ढिला गरी 'क्लोज क्याम्प'मा सहभागी भए।

कप्तान ज्ञानेन्द्र मल्ल आफैंपनि लामो समयपछि एकदिवसीय खेल खेल्न लागेको स्वीकार्छन्। उनी भन्छन्‌, ‘हामी लामो समयपछि ५० ओभरको प्रतियोगिता खेल्दै छौँ, पछिल्लो समय हाम्रा खेलाडी २० ओभरको प्रतियोगितामा केन्द्रित हुँदा ५० ओभरको खेलमा केहि अभ्यास खेल खेल्न पाएको भए सहज हुन्थ्यो।’ यद्यपि, उनले बन्द प्रशिक्षण भन्दा पनि एक खेलाडी खेलका लागि सधैँ तयार हुनुपर्नेमा जोड दिए। ज्ञानेन्द्र थप्छन्‌, ‘प्रतियोगिताको तयारी अझै राम्रोसँग गर्नुपर्थ्यो, तर प्रयास हुँदाहुँदै पनि सोचेजस्तो भएन्, तर एक खेलाडीले प्रतियोगिताका लागि सधैँ तयार हुनुपर्छ।’

६ खेलको नतिजा ५० प्रतिशत

नेपालले सन् २०१८ को जुनमा एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएयता ६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको छ। जसमा तीन जित र तीन हारको नतिजा निकालेको छ।

अर्थात नेपालले ५० प्रतिशत जित र ५० प्रतिशत हारको सामना गरेको छ। पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले नेदरल्यान्ड्सविरुद्ध खेलेको थियो। दुई खेलको उक्त शृंखला नेपालले १–१ को बराबरी खेल्दै ऐतिहासिक सफलता हात पार्‍यो। त्यस्तै, नेपालले एसियाकप छनोटअन्तर्गत यूएईसँग प्रतिष्पर्धा गर्यो। जहाँ नेपाल पराजित भएको थियो। नेपालले सन् २०१९ को जनवरीमा यूएईसँग तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्यो, त्यहाँ नेपाल २–१ ले विजयी भयो। जुन नेपालको पहिलो श्रृंखलाका रुपमा समेत रह्यो। त्यसयता भने नेपाल कुनैपनि प्रतियोगिता खेलको छैन।

'एमएम कप'ले उजागर गरेको कमजोरी

सुनसरीको इनरुवामा केहि समय अघि मनमोहन मेमोरियल (एमएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता भयो। विरलै हुने एकदिवसीय यो प्रतियोगितालाई कोसेढुंगा हुने विश्वास लिइयो। किनपनि भने यसले विश्व क्रिकेट लिगको तयारीमा रहेको नेपाली खेलाडी 'एक्सपोज' हुने आंकलन गरिएको थियो।

कमाउनकै लागि गरिने 'टी-२०' फ्रेन्चाइजभन्दा फरक उद्देश्य राखेको यो प्रतियोगितामा खेलाडीको आकर्षण भने कमजोर रह्यो। प्रतियोगिता नतिजाका हिसाबले साविक विजेता नेपाल आर्मी च्याम्पियन बन्यो। तर तामझामका साथ हुने टी–२० फ्रेन्चाइजको लतमा परेका नेपालीका लागि यो एकदिवसीय क्रिकेट भने धेरैको नजरमा नपर्दै सकियो। एकदिवसीय क्रिकेटलाई उठाउन हुने यस्ता प्रतियोगितालाई राष्ट्रिय क्रिकेट टोलीका सदस्यले ठूलो महत्व दिनुुपर्ने हो। तर विडम्बना, राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्वकप्तान पारस खड्काले नै खेलेनन्। अझ प्रतियोगिताको समुह चरणदेखी फाइनलसम्म पुग्दा कुनैपनि टिमले पुरै ५० ओभर खेल खेलेनन्। यसले पनि हाम्रो एकदिवसीय खेलको स्तर र अवस्था कस्तो छ भन्ने धेरथोर बुझ्‍न मद्दत गर्छ।

समग्रमा घरेलु प्रतियोगिता कम महत्वमा रहेपनि बुधबारबाट टीयू मैदानमा हुने पहिलो एकदिवसीय अन्तर्राष्ट्रियलाई गौरवपूर्ण हुने आशा गर्न सकिन्छ। यद्यपि, नेपालले यसअघि पनि घरेलु दर्शकको फाइदा उठाउँदै आएकाले बुधबारको खेलमा समेत दर्शकको फ्‍याक्टर महत्वपूर्ण हुनेछ। किक्रेटप्रेमी दर्शकलाई नेपाली खेलाडीहरुले पक्कै थप आशावादी र रोमाञ्‍चक बनाउनेछन्‌।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top