होमपेज / स्वास्थ्य
सल्यानको दार्मा गाउँपालिकामा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा २३ जनामा स्क्रब टाइफस र १ जनामा डेंगी पुष्टि भएको छ । केही दिन देखि अज्ञात रोग सँगै जटिल ज्यरोका कारण मानिसहरुको मृत्यु हुन थालेपछि आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरमा ज्वरोका लक्षण देखिएका ६७ जनामा स्क्रब टाइफस र डेंगी परीक्षण गर्दा २३ जनामा स्क्रब टाइफस र १ जनामा डेंगी संक्रमण पुष्टि भएको दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञ बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार शनिवार दार्मा गाउँपालिका–३ थुम्केसल्लीमा सम्पन्न निःशुल्क विशेष स्वास्थ्य शिविरमा २४७ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
स्वास्थ्य शिविरमा महिला १४६ जना र पुरुष १०१ जना गरी जम्मा २४७ जनाले विभिन्न प्रकारका स्वास्थ्य परीक्षण गराएका हुन । शिविरका क्रममा पछिल्ला केही दिनयता दार्मा गाउँपालिका र आसपासका क्षेत्रमा स्क्रब टाइफसको संक्रमण तीव्र गतिमा फैलिरहेको देखिएको र जसले महामारीको संकेत दिएकाले रोग पहिचान गर्न शिविरको आयोजना गरिएको बताउनु भयो । उहाँका अनुसार दार्मा गाउँपालिकाको आयोजनामा र जेन्जीको समन्वयमा, साथै जिल्ला अस्पताल सल्यानका डाक्टर तथा प्राविधिकहरूको सहयोगमा उक्त स्वास्थ्य शिविर सञ्चालन गरिएको बताउनु भयो । शिविर पछि स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न, रोगको प्रारम्भिक पहिचान र जनचेतना अभिवृद्धि गर्न सहज हुने बताउनु भयो ।
दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले हाल गाउँपालिकामा अज्ञात रोगका कारण उच्च ज्वरोका समस्या देखिँदै आएको छ । चारजनाको मृत्यु भइसकेको र स्थानीयहरूमा त्रास फैलिएको अवस्थामा, रोगको पहिचान तथा रोकथामका लागि गाउँपालिकाले शीघ्र पहल थालेको बताउनु भयो ।उहाँले गाउँपालिकाले स्वास्थ्य जोखिम न्यूनिकरणका लागि आगामी दिनमा पनि नियमित स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने, सचेतना अभिवृद्धि गर्ने र जिल्ला अस्पताल तथा प्रदेश सरकारसँग समन्वय गरी विशेष अभियान सञ्चालन गर्ने तयारी गरेको बताउनु भयो । स्वास्थ्य शिविर कार्तिक १६ गते दार्मा गाउँपालिका–५ त्रिवेणी स्वास्थ्य चौकीमा पनि सञ्चालन हुनेछ । त्यहाँ पनि ज्वरो, सरुवा रोग, महिलासम्बन्धी समस्या तथा अन्य रोगहरूको परीक्षण र परामर्श सेवा उपलब्ध गराइने जनाइएको छ ।





.jpg)