ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

 न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा सुनिश्चित गर्न सल्यानका  स्वास्थ्यकर्मीको ज्ञापन पत्र 

  सल्यान खबर डेस्क २०८२ कार्तिक १४ गते शुक्रबार १८:१२:५५ मा प्रकाशित

सल्यान, १४ कार्तिक । 

नेपाल नर्सिङ संघको नेतृत्वमा देशभरका नर्सिङ पेसाकर्मीहरूले सुरु गरेको आन्दोलनलाई समर्थन सहित राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ सल्यानले न्यायोचित पारिश्रमिकको माग राखेको छ ।  राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल, सल्यान जिल्ला समितिले शुक्रवार जिल्ला प्रशासन कार्यालय र प्रशासन मार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो । 

महासङ्घका जिल्ला अध्यक्ष लोकबहादुर बस्नेतका अनुसार महासङ्घले मुख्य रुपमा दुई माग पेस गरेको छ । निजी अस्पताल, नर्सिङ होम, क्लिनिक, गैरसरकारी स्वास्थ्य संस्था लगायत स्वास्थ्यसँग सम्बन्धित सबै निकायमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्ने स्वास्थ्यकर्मीहरूको माग छ । यस्तै स्वास्थ्यकर्मी र कर्मचारीलाई सम्बन्धित रोजगारदाताले सामाजिक सुरक्षा कोषमा अनिवार्य रूपमा आबद्ध गराउनुपर्ने, कानुन विपरीत कुनै सम्झौता वा अन्य उपायबाट स्वास्थ्यकर्मीको हक अधिकार हनन नगर्न र यसमा सरकारद्वारा कडाइका साथ अनुगमन, नियमन र दोषी देखिए कडा कानुनी कारबाही हुनुपर्ने माग गरिएको छ ।

स्वास्थ्य क्षेत्रको अग्रणी सङ्गठनको रूपमा काम गरिरहेको भन्दै महासङ्घले स्वास्थ्य सेवालाई प्रभावकारी र विशिष्टीकृत सेवाको रुपमा स्थापना गर्न निरन्तर पहल गर्दै आएको जनाएको छ। स्वास्थ्य क्षेत्रका सबल पक्षलाई प्रवर्द्धन र समर्थन गर्न र कमजोर पक्षमा सुधारका लागि रचनात्मक सुझाव दिने महासङ्घको प्रतिबद्धता छ । 

सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी हरिषचन्द शर्मालाई ज्ञापन पत्र बुझाइसकेपछि महासङ्घका अध्यक्ष बस्नेतले स्वास्थ्य क्षेत्रको सबल पक्षलाई सहयोग र कमजोर पक्षलाई सुधार गर्ने आफूहरूको प्रतिबद्धता रहेको बताए ।पेसाकर्मीहरूको न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा सुनिश्चित गर्न ज्ञापन पत्र पेस गरिएको उनले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top