ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

स्क्रब टाइफस संक्रमित खोजी गर्दै सल्यानका स्वास्थ्यकर्मी गाउँमा

  सल्यान खबर डेस्क २०८२ आश्विन ३१ गते शुक्रबार १९:४०:४५ मा प्रकाशित

स्क्रब टाइफसका बिरामीको संख्या बढ्दै जान थालेपछि सल्यानमा संक्रमित बिरामीको खोजी गर्दै स्वास्थ्यकर्मी गाउँमा पुगेका छन् । स्क्रब टाइफसको उच्च जोखिम रहेको बागचौर नगरपालिका र छत्रेश्वरी गाउँपालिकामा स्वास्थ्य सेवा कार्यालय सल्यानले शिविर नै सञ्चालन गरेर संक्रमित बिरामीको खोज सुरु गरेको हो । 

स्क्रब टाइफस संक्रमणको उच्च जोखिममा शारदा नगरपालिका, बागचौर नगरपालिका र छत्रेश्वरी गाउँपालिका रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत तारा रिजालले जानकारी दिइन् । शारदा नगरपालिकाभित्र सल्यान जिल्ला अस्पताल रहेकाले संक्रमितले अस्पतालबाट सेवा लिइरहेको र अन्य दुई स्थानमा स्थलगत रूपमा नै पुगेर स्क्रब टाइफसविरुद्ध पैरवी सचेतना तथा नमुना परीक्षण गरिएको उनको भनाइ छ । 

बागचौर नगरपालिका– ४ मा  गरिएको शिविरमा ३३ जना बिरामीको रक्त परीक्षण गर्दा १० जना र छत्रेश्वरी गाउँपालिकामा ३७ जना बिरामीमा रगत परीक्षण गर्दा आठजनामा स्क्रब टाइफस आइजिजी पोजेटिभ र दुईजनामा डेंगु पजिटिभ भेटिएको रिजालले बताइन्। उनले भनिन्, ‘शिविरमा आएका सबै बिरामीलाई स्क्रब टाइफस, डेंगु, रोग सार्ने माध्यम र रोग लाग्नबाट बच्न सकिने उपायहरूबारे पनि जानकारी गराउने कार्य भएको छ ।’ 

जिल्लामा स्क्रब टाइफस संक्रमित बिरामीको संख्या ९५ पुगेको छ । संक्रमितमध्ये धेरैको सल्यान जिल्ला अस्पतालमा उपचारपश्चात् ठिक भएर घर फर्किसकेको रिजालले बताइन् । स्क्रब टाइफस रोगसँग मिल्दोजुल्दो लक्षण कोही–कसैलाई देखिएमा नजिकैको स्वास्थ्य संस्था वा सल्यान जिल्ला अस्पतालमा सम्पर्क गर्न स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका वरिष्ठ मेडिकल ल्याब टेक्नोलोजिस्ट ओमराज आचार्यले बताए । खासगरी असारदेखि असोज महिनासम्म स्क्रब टाइफसको संक्रमण देखिने उनको भनाइ छ ।

समयमै पहिचान भई उपचार नभएको खण्डमा मस्तिष्क, कजेलो, फोक्सो आदिको संक्रमण भई बिरामीको मृत्युसमेत हुन सक्ने उनले बताइन् । उनले भनिन्, ‘मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले मानिसलाई टोक्दा मानिसमा यो रोग सर्छ । किर्ना मुसा प्रजातिहरूको कानमा यो टाँसिएर बस्छ।’  झारपात, घाँसेमैदानमा मुसा प्रजातिहरू हिँड्दा ब्याक्टेरिया झरेर त्यस स्थानमा हिँड्ने मानिसमा स्क्रब टाइफस संक्रमण हुने सक्ने  स्वास्थ्यकर्मीको भनाइ छ । यस रोगको संक्रमण जोखिममा बढी किसान पर्छन् । झाडी, वनजंगलमा काम गर्नेहरूलाई बढी संक्रमण भएको पाइएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top