होमपेज / अर्थ
पैसा कमाउन बिदेसिने युवाको जमात पछिल्लो समय बढिरहँदा सल्यानकी एक महिलाले भने व्यावसायिक बंगुरपालनबाट मनग्य आम्दानी गर्दै आएकी छिन् । जिल्लाको त्रिवेणी गाउँपालिका- ३, लोलाउनेकी सावित्रा महतराले बंगुरपालन गरेर वार्षिक आठ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएकी छिन् ।
विगतमा थोरै संख्याबाट बंगुरपालन गर्दै आएकी महतराले ०७४ बाट भने महतरा कृषि तथा पशुपक्षी फर्म नै दर्ता गरेर व्यावसायिक बंगुरपालन थालेकी हुन् । आफूसँग अहिले साना–ठुला गरी ५० वटा बंगुर रहेका उनले बताइन् । ‘यो वर्षको वैशाख र जेठ महिनामा मात्रै तीन लाखको बंगुर बिक्री भइसकेको छ,’ उनले भनिन्, ‘वर्षभर १२ देखि १४ लाखसम्म आम्दानी हुने अनुमान गरेकी छु ।’
गत वर्ष मात्रै आठ लाखभन्दा बढीको बंगुर बिक्री गरेको उनको भनाइ छ । मासुका लागि ठुला बंगुरभन्दा पालाका लागि साना पाठापाठीको माग बढी हुने गरेको महतराले बताइन् । उनले भनिन्, ‘मासुका लागि भन्दा पनि पालनका लागि साना पाठापाठीको माग धेरै हुने गर्दछ । एक जोडी पाठापाठीको चार हजारदेखि चार हजार पाँच सयसम्ममा बिक्री भइरहेको छ ।’
स्थानीय गाउँघरमा पाइने खाद्यान्न तथा बारी तथा जंगलमा खेर गइरहेको सिस्नो उपयोग गरेर दाना खुवाउने गरेको उनको भनाइ छ । ‘फोहोर बढी गर्ने भएकाले पहिले बंगुरपालन गर्न कठिनाइ भएको थियो,’ उनले भनिन्, ‘अहिले बानी परिसकेको छ । सरसफाइका लागि सामग्री प्रयोग गर्दै आइरहेकी छु ।’
बंगुर व्यवसायलाई अझै विस्तार र व्यवस्थित गर्ने सोच रहेको उनको भनाइ छ । कुनै सिजन बिक्रीका लागि केही समस्या हुने भए तापनि बजारीकरणका लागि भने अहिलेसम्म कुनै समस्या भोग्नु नपरेको महतराकाे भनाइ छ ।





.jpg)