होमपेज / अर्थ
दीपक शर्मा माघ २७,सल्यान
सल्यानको कपुुरकोट गाउँपालिका –३ कपुरकोटका भक्त बहादुर घर्तीले व्यावसायिक बङ्गुर पालनबाट मनग्य आम्दानी गर्दै आइरहेका छन् । व्यावसायिक बङ्गुर पालनबाट उनले वार्षिक १८ लाखको आम्दानी गर्दै आइरहेका हुन ।
विगत आठ वर्षदेखि परम्परागत रूपमा २ वटाबाट व्यवसाय सुरु गरेका उनले अहिले साना ठुला गरी ३० वटा पाल्दै आएका छन् । छोटो समयमा राम्रो आम्दानी गर्न सकिने उनको भनाई छ । उनले भने ‘मसँग १० वटा माउ बङ्गुर छन् । एक वर्षमा राम्रो स्याहार र दाना पायो भने तीन पटकसम्म पाठा पाठी दिन्छ । एउटै बङ्गुरले १० देखि १२ वटासम्म पाठा पाठी दिन्छ ।’
एउटै पाठा पाठी ४ देखि ५ हजारसम्म बिक्री हुने भएकाले बङ्गुर आम्दानीको राम्रो स्रोत बनेको उनको भनाई छ । एक महिना अघि मात्र १ सय २० वटा बङ्गुरका पाठा पोखरा बिक्री गरेको उनको भनाई छ । मासुका लागि भन्दा पनि पाठा पाठीको माग बढी हुने गरेको उनको भनाई छ । उनले भने ‘काम यो गर्न हुने, ऊ गर्न नहुने भन्ने केही छैन । गर्न सके जे गरे नि हुन्छ, आफू जेबाट सफल भइन्छ त्यही काम गर्ने त हो नि ।’
यस्तै कपुरकोट गाउँपालिका – २ की तारादेवी घर्तीले पनि बङ्गुर पालनबाट वार्षिक १२ लाख आम्दानी गर्दै आइरहेकी छन् । थोरै लगानीबाट पनि राम्रो आम्दानी हुने भए पनि बंगुुरपालनमा लागेको उनको भनाई छ । उनले भनिन ‘बङ्गुर पालनबाट वार्षिक १२ लाख जति आम्दानी हुन्छ । त्यसमा ५ लाख जति खर्च हुन्छ होला बाँकी चोखो आम्दानी हो ।’
बङ्गुर बिक्रीका लागि बजारको खासै समस्या नभएको उनको भनाई छ । सिस्नो खाएको बङ्गुर राम्रो हुने भएकाले सल्यानबाट खोजी खोजी बङ्गुरका पाठा पाठी व्यापारीले लिने गरेको उनको भनाई छ । सल्यानबाट बढी मात्रामा पोखरा, बुटवल, काठमाण्डौ, धनगढी, नेपालगञ्ज र दाङ जाने गरेको उनको भनाई छ ।





.jpg)