होमपेज / अर्थ
दीपक शर्मा असार ३,सल्यान
काम र दामको खोजीमा नेपालका धेरै युवाहरु विदेशमा भौतारी रहेका छन् । विदेशमा गएर धेरै दाम कमाउने र घरपरिवारलाई सुख सयलमा पाल्ने सोच राखेर धेरै युवाहरु विदेश पलायन हुन्छन् । तर विदेशमा पाएको दुखलाई सम्झिएर विदेशीएका युवाहरु स्वदेश फर्किएर स्वरोजगारमा लागेका छन् ।
गाउँका साथीहरु धमाधाम वैदेशिक रोजगारमा जान थालेपछि कालिमाटी गाउँपालिका ४ नयाँवनका टंक बहादुर केसीले पनि ऋण खोजेर विदेश गए । आकर्षक तलबको प्रलोभनमा उनी तीन वर्ष मलेसिया बिताए । उनलाई सोचे अनुसारको काम र दान नभएपछि विदेशको भूमिमा रही रहन मन लागेन । गाउँमा फर्किएर केही गरौं भन्ने सपना देख्न थाले । उनले परम्परागत रुपमा गर्दै आएको बाख्रापालनलाई व्यवसायिक बनाउने सोच बनाए । आफ्नै देशमा केही गर्नु पर्छ भन्ने सोच जागेपछि स्वदेशमै फर्किएर व्यावसायिक बाख्रपालन गर्दै आइरहेको केसीले बताए ।
१५ लाख लगानी गरेर एक सय बाख्रापालन गर्दै आइरहेको केसीको भनाई छ । बाख्रापालनबाट वार्षिक चार लाख आम्दानी हुँदै आइरहेको उनले बताए । उनले भने ‘विदेश हुने आम्दानी भन्दा बढी बाख्रापालनबाट गर्दै आइरहेको छु । विदेशमा गर्ने ड्युटी र परिश्रमबाट स्वदेशमै पनि केही गर्न सकिन्छ भन्ने सोचका साथ व्यवसायिक बाख्रापालनमा जुटेको छु ।’
विदेशमा जति परिश्रम गर्ने हो भने स्वदेशमा पनि राम्रो आम्दानी गर्न सकिने कालीमाटीकै शसिकला वलीको अनुभव छ । व्यवसायिक बाख्रापालनबाट भएको आम्दानीबाट जग्गा समेत जोडेको उनको भनाई छ । उनले भनिन ‘बाख्रापालनबाट भएको आम्दानीले सम्पूर्ण घरखर्च कटाएर बचेको पैसाले २ लाखको जग्गा समेत किनि सकेकी छु ।’
सल्यान पहाडी जिल्ला भएकाले बाख्रापालनको निकै सम्भावनायुक्त जिल्ला हो । चरी चरणको लागि प्रशस्त जंगल भएकाले पनि प्रत्येकको घरमा कम्तिमा ४ देखि ५ सम्म बाखा पालन हुन्दै आइरहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख कपिलप्रसाद उपाध्यायले बताए । जिल्लामा १ सय ४१ भन्दा बढी किसानले फर्म नै दर्ता गरी व्यवसायिक बाख्रापालन गर्दै आइरहेका उनको भनाई छ । उनले भने ‘जिल्लामा वार्षिक ८० हजार खसी बोका बिक्री हुने जसमा ४० हजार भन्दा बढी खसी बोका जिल्ला बाहिर निकासी हुने गरेको छ । बाँकी ४० हजार जिल्ला भित्रै खपत हुने गरेको छ । बाख्रा बिक्रीबाट मात्रै जिल्लामा वार्षिक १६ करोड रुपैयाँ भित्रिने गरेको छ ।’





.jpg)