होमपेज / अर्थ
दिपक शर्मा कात्तिक २२, सल्यान :
सल्यानमा यो वर्ष आलु उत्पादन बढेको छ। वर्षे र हिउँदे आलु गरी २४ हजार १ सय १० मेटिक्टन आलु उत्पादन भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।
कार्यालयका अनुसार २ हजार ३ सय ७० हेक्टर क्षेत्रफलमा वर्षे र हिउँदे आलु खेती गरिएको छ। वर्षे आलु ५ सय ५० हेक्टरमा ४ हजार ५ सय ६० मेट्रिक टन र हिउँदे १ हजार ८ सय २० हेक्टरमा १९ हजार ५ सय ५० मेट्रिक टन आलु उत्पादन भएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशमकुमार बस्नेतले जानकारी दिए।
गत आर्थिक वर्षको तुलनामा १६ दशमलव ९४ प्रतिशत आलु उत्पादनमा वृद्धि आएको छ। वर्षे आलु २० दशमलव १९ प्रतिशत र हिउँदे १६ दशमलव २१ प्रतिशतले वृद्धि आएको उनको भनाइ छ।
उत्पादन भएको आलु मध्ये १२ हजार ५५ मेट्रिक टन आलु आन्तरिक र ४ हजार ७ सय ४० मेट्रिक टन विउमा गरी जम्मा १६ हजार ७ सय ९५ मेट्रिक टन आलु आन्तरिक रुपमा नै खपत हुने गरेको बस्नेतको भनाई छ। उत्पादित ७ हजार ३ सय १५ मेट्रिक टन आलु बजारमा पुगेको उनले बताए।
गत आ.व.मा २ हजार २ सय ४० हेक्टरमा २० हजार ६ सय १७ मेट्रिक टन आलु उत्पादन भएको थियो।
उन्नत जातको आलुको विउ वितरण, आलु ब्लक कार्यक्रम , सिँचाई सुविधाको विस्तारले जिल्लामा आलुको उत्पादन बढेको सूचना अधिकारी बस्नेतले बताए। उनले भने आलुको पकेट क्षेत्रको रुपमा रहेको वाफुखोलालाई आलु ब्वक कार्यक्रम सञ्चालन गरेका छौं। यस्तै उन्नत जातको विउ र सिँचाईको पहुँच वृद्धिले पनि उत्पादनमा वृद्धि ल्याएको छ।
आलुले उचित मूल्य पायो
विश्वभर फैलिएको कोरोना भाइरसका कारण भारतबाट आउने आलु बन्द हुँदा यो वर्ष सल्यानको आलुले राम्रो मूल्य पाएको छ।
विगतका वर्षहरुमा १५ देखि २५ रुपैयाँसम्म विक्री गर्दै आइरहेका किसानहरुले यो वर्ष भने ३५ देखि ५५ रुपैयाँ किलोसम्म बिक्री गरेका छन्। सल्यानका आलु बढी मात्रामा पोखरा, दाङ, बुटवल जाने गरेको छ। खेतबारीमै खाएर खरिदकर्ताले आलु लिएर जाने गरेकाले बजारको समस्या नभएको किसानहरुको भनाइ छ।





.jpg)