होमपेज / समाज
सल्यान, १० माघ ।
पछिल्लो समय सामुदायिक वनको संरक्षणमा उपभोक्ताहरूको सक्रियता घट्दै गएको पाइन्छ। सामुदायिक वन व्यवस्थापनमा विना मूल्यको श्रम त झन् हुनै छाडेको छ ।
वन संरक्षण भन्दा जङ्गलको दोहनमा धेरैको ध्यान पुगेको छ। विभिन्न सामुदायिक वनको रकम समितिकै पदाधिकारीले हिनामिना गर्ने र हिसाबकिताब पारदर्शी नभएको गुनासो बेला बेला आइरहेको हुन्छ। जिल्लाको विभिन्न क्षेत्रका केही जङ्गल अतिक्रमणको चपेटामा परेका छन् । व्यापक मात्रामा जङ्गलका रुखहरू कटानी समेत हुने गरेको छ । जङ्गल संरक्षण गर्ने कामका कसैको तदारुकता देखिन् । तर जङ्गल रहेन भने मानव जातीको जीवन नै खतरामा पर्ने कुराको हेक्का राख्न जरुरी छ।
जङ्गल अतिक्रमणका प्रसग बेला बेला आइरहँदा कतिपय सामुदायिक वन भने जङ्गल बचाउने र जङ्गलबाट हुने आयलाई सदुपयोग गर्ने दिशा तीर पनि केन्द्रित बनेका छन् । यस्तै कुरालाई मध्यनजर गर्दै सल्यानमा एक सामुदायिक वन समूहका उपभोक्ताहरू अभियानकै रूपमा वन संरक्षण र व्यवस्थापनमा जुटेका छन् । वन संरक्षण सँगै समूहको आम्दानी बढाएर सिपमुलक तालिम सिक्ने र गाउँको विकास समेत गरेका छन् । जिल्ला बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ४ डोप्केमा पर्ने सल्लेरी सामुदायिक वनमा स्थानीय उपभोक्ताले बर्सेनि झाडी कटान छटान, वृक्षारोपण गर्ने गरेका छन् । उनीहरू जङ्गलमा रहेका साना ठुला साल, सल्ला र अन्य बोट बिरुवाको काँटछाँट तथा गोडमेल गर्ने गरेका छन् । डोप्केमा सल्लेरी सामुदायिक जङ्गलको आम्दानीबाट विभिन्न उदाहरणीय काम भइरहेको वन समूहका कोषाध्यक्ष यशोदा बुढाथोकीले बताइन् ।
सामुदायिक वनको आयस्रोत बाट सिलाइकटाई, मुढा बुनाई,टोपी स्विटर बुनाई, खानेपानी ट्याङ्की, पोखरी निर्माण, घुम्ती कोष, घोरेटो बाटो निर्माण देखि जङ्गल बचाउन तथा वृक्षारोपण समेत सामुदायिक वनले गर्दै आएको छ । सल्लेरी सामुदायिक वनको २ सय ५२ हेक्टर क्षेत्रफलको जङ्गललाई गाउँलेहरूले आफ्नो सम्पत्ति भन्दा बडी माया गर्ने गरेका छन् । समितिकी सचिव चन्द्रकला विकले महिलाको आयआर्जनमा सिपयुक्त तालिम प्रदान गर्न वन सहयोगी संस्था वनेको बताइन्। उनले भनिन्, गाउँमा कसैलाई दुख तथा विपत्ति पर्दा समेत जङ्गलको आयबाट सहयोग हुने गरेको छ।





.jpg)