ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको सामुदायिक रेडियो शारदा एफएम १५ वर्षमा प्रवेश

  सरिता चलाउने २०७९ फाल्गुण १२ गते शुक्रबार १६:४७:१२ मा प्रकाशित

फागुन १२,सल्यान 

रेडियो शारदा एफएम सल्यानले आफ्नो १५ औँ स्थापना दिवस मनाएको छ । ग्रामीण विकास सञ्चार केन्द्रद्वारा सञ्चालित सामुदायिक रेडियो शारदा एफएम ९९ थोप्लो २ मेगाहर्जले बिभिन्न कार्यक्रम गरेर १५ औँ वार्षिकोत्सव मनाएको हो । १४ वर्ष पुरा गरेर १५  वर्षमा प्रवेश गरेको अवसरमा जिल्ला कारागार सल्यानका कैदीबन्दीहरुका लागी रेडियो वितरण गरेको छ ।

कारागारमा रहेका कैदिबन्दीहरुको सुचना पाउने अधिकारलाई सुनिश्चित गर्ने उद्देश्यले रेडियो वितरण गरिएको रेडियोका स्टेसन मेनेजर प्रतीक इच्छुक शर्माले बताउनुभयो । कैदी बन्दीले सूचना पाउने माध्यम रेडियो भएको र रेडियोले रचनात्मक काम गर्न सिकाउने भएकाले  सूचनाबाट वञ्चित नहुन भन्ने उद्देश्यले कारागारमै गएर रेडियो वितरण गरेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले सत्य सूचनाले मात्रै नागरिकहरू सचेत हुने भएकाले समाज र श्रोताले रुचाउने खालका कार्यक्रम ल्याउनु पर्ने बताउनु भयो । जनता सामु सूचना पु¥याउनको लागि  सामुदायिक रेडियोले महत्त्वपूर्ण भूमिका खेल्दै आएको भन्दै उहाँले अवका दिनहरूमा सृजनशीलता सँगै खोजमूलक र विश्लेषणात्मक विचारहरू प्रस्तुत गर्नुपर्ने धारणा राख्नुभयो ।उहाँले भन्नु भयो,“ असल मान्छे बन्नका लागि असल संस्कारको आवश्यक पर्छ, रेडियोले पनि जनतालाई अनुशासनको पालन गर्न सिकाएको छ । आफूले रेडियोको महत्त्व बुझेको र आम नागरिकको सेवाका लागि सञ्चार भएकाले आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउँछु । 

कार्यक्रममा विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले आम जनताको सूचनाको भरपर्दो माध्याम भनेको सामुदायिक रेडियो भएको बताउनु भएको छ  । ‘जनतालाई सुसूचित गराउने माध्यम रेडियो हो, जनताको विश्वास रेडियोबाट प्रशारण हुने सुचना समाचारमा हुन्छ, त्यसैले सत्य तथ्यमा आधारित भएर सुचना समाचार सम्प्रेषणलाई निरन्तरता दिन आग्रह गर्दछु’—उहाँले भन्नु भयो ।समाजमा भएको नकारात्मक र सकारात्मक कुराहरूलाई पनि समेटर रेडियो बाट उजागर गरिदिनुपर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले आग्रह गर्नुभयो । 

 नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष रमेश गौतमले सामुदायिक रेडियोहरू सुचना र समाचार दिने कुरामा अब्बल बन्नु पर्ने बताउनु भयो । उहाँले रेडियो सुन्ने श्रोता बढदै गएकाले क्वालिटी, विश्वसनियतामा ध्यान दिनुपर्ने र जिम्मेवार बाट पछि हट्न नहुने बताउनु भयो ।

.नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सल्यानका सह–सचिव बुद्धि पुनले अहिले पनि भौगोलिक विकटताका कारण अन्य सञ्चार माध्यम भन्दा रेडियो नै सूचनाको भरपर्दो माध्यम भएको बताउनु भयो । अझै ग्रामीण स्तरका बस्ती सम्म टिभी र पत्रिकाको पहुँच नभएका कारण रेडियो नै जनताको सूचना पाउने सारथि बनेको बताउनु भयो । रेडियो तहल्काका अध्यक्ष तथा स्टेसन मेनेजर डिल्ली रावतले सामुदायिक रेडियोलाई सिकाई र अवसरको रुपमा लिएको बताउनु भयो । रेडियो सञ्चालनमा चुनौती रहे पनि चुनौतीलाई अवसरमा बदल्नु पर्ने उहाँको भनाई छ । 

रेडियोका स्टेसन मेनेजर प्रतीक इच्छुक शर्माको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख दामोदर केसी, अनुसन्धान प्रमुख सञ्जीव चौधरी अन्य सुरक्षाकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो । २०६५ साल फागुन १२  गते देखी नियमित प्रशारण सुरु गरेको रेडियोले समाचारमूलक, चेतनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण गर्दै आइरहेको छ ।

रेडियो शारदाको स्थापना दिवसको अवसरमा अक्षयकोष स्थापना

रेडियो शारदा एफएमको स्थापना दिवसको अवसरमा अक्षयकोष स्थापना गरिएको छ । पूर्व प्राविधिक सुजित सिंह थापाको सम्झनामा रु ४० हजारको अक्षयकोष स्थापना गरिएको हो । स्थापना दिवसको अवसर पारी रेडियो शारदाको तर्फ बाट २० हजार र थापाको परिवार बाट २० हजार गरी रु ४० हजारको अक्षयकोष स्थापना गरिएको रेडियोका स्टेसन मेनेजर प्रतीक इच्छुक शर्माले बताउनु भयो । उहाँका अनुसार अक्षयकोषलाई बढाउँदै रु एक लाख सम्म पु¥याइने छ । स्थापना गरिएको अक्षयकोषको ब्याजबाट आउने रकमले प्रत्येक वर्ष रेडियोको स्थापना दिवसका अवसरमा सडक सुरक्षा सम्बन्धी रिपोर्टिङ गर्ने एक जना पत्रकारलाई पुरस्कृत गरिने बताउनु भयो । सुजित सिंह थापाको केही महिना अघि मात्र २५ वर्षको उमेरमा दुर्घटनामा परी मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top