ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा घुम्ती वाली शिविर मार्फत तरकारीमा लाग्ने रोग किराको उपचार

  सरिता चलाउने २०७९ पौष २० गते बुधबार १७:४५:३८ मा प्रकाशित

पुस २०,सल्यान

सल्यानमा घुम्ती वाली शिविरको आयोजना गरी तरकारी बालीमा लाग्ने रोग किराको उपचार गर्न थालिएको छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय एकीकृत प्रयोगशाला सुर्खेतले जिल्लाको शारदा नदी आसपासका क्षेत्रमा रहेको तरकारी बारीमा पुगेर उपचार सुरु गरेको हो । 

वर्षौ देखि व्यवसायीक रुपमा तरकारी खेती गरेर रोग किराको समस्या भोगिरहेका किसानको खेत बारीमै पुगेर प्राविधिक सहितको टोलीले स्थलगत घुम्ती वाली शिविरको आयोजना गरी उपचार गर्न थालिएको एकीकृत प्रयोगशाला सुर्खेतका वरिष्ठ वाली संरक्षण अधिकृत परशुराम रावतले बताउनु भयो । उहाँका अनुसार खेतबारीमै पुगेर किसानहरूले उत्पादन गरेका तरकारी र बिरुवाको नमुना ल्याउन लगाएर जाँच सँगै अध्ययन गरिएको छ । 

सल्यान जिल्ला तरकारीको पकेट क्षेत्र भएकाले किसानले धेरै समस्या भोग्नु परेकाले प्राविधिक सहितको टोली आएर अध्ययन गरिएको बताउनु भयो । वाली शिविर आवश्यकता अनुसार जिल्लाका सबै ठाउँमा व्यवसायिक रुपमा खेती गर्ने कृषकहरूका बारीमा गएर उपचार गरिने बताउनु भयो । 

उहाँले भन्नु भयो, कृषिमा माटो शिविर गर्छौ, वाली उपचार शिविर कमै मात्रामा गर्छौ, व्यवसायिक रुपमा खेती गर्ने किसान पनि प्रत्यक्ष जोडिन सक्नुभएको छैन , तरकारी र बिरुवामा पनि के कस्तो रोग र किरा लाग्छ, यसलाई सुधार्न के गर्नुपर्छ, यसकै लागि हामीले यो शिविरको आयोजना गरेका हौ, 

शिविरमा किसानले आफूले भोगेका समस्याहरू देखाउनको लागि बिरुवाको नमुना सहित आउनु पर्ने र  त्यसको आधारमा प्राविधिकहरूले जाँच गरेर जटिल रोग देखिएमा सिफारिस गरी उपचार गर्ने बताउनु भयो । 

सल्यानमा मात्र नभएर कर्णाली प्रदेशका १० वटै जिल्लामा आवश्यकता अनुसार वाली शिविरको आयोजना गरी उपचार गर्न थालिएको बताउनु भयो । जहाँ व्यवसायिक किसानहरूले बालीमा रोग किराको समस्या भोगेका छन प्राविधिक सहितको टाली फिल्डमा गएर सेवा दिइरहेको रावतले बताउनु भयो । 

वाली उपचारमा बढी नमुना हेर्दा टमाटर र आलुमा डढुवा रोग देखिएको छ भने अन्य तरकारी र गहुँ बालीमा खाद्य तत्त्वको कमी र केही नमुनामा असामान्य खालको रोग देखिएको वाली संरक्षण विज्ञ वेद प्रसाद चौलागाईले बताउनु भयो ।  सामान्य लक्षण देखिएका बालीमा मल खादको सिफारिस गरिएको र अलि बढी समस्या देखिएको बिरुवाको लागी सामान्य विषादीको सिफारिस गरिएको चौलागाईले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top