होमपेज / समाज
सरिता चलाउने पुस ७,सल्यान
सल्यानमा पत्रकार आचारसंहिता, पत्रकारिता वर्गीकरण एवं मिडिया विकास कोषको सुविधासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ सल्यान जिल्ला शाखाको सहकार्यमा प्रेस काउन्सिल नेपालको आयोजनामा बिहिबार सल्यान खलंगामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा पत्रकार आचारसंहिताको विषयमा प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य ठाकुरप्रसाद बेल्वासे, पत्रपत्रिका मूल्याङ्कन र वर्गीकरणका विषयमा काउन्सिलका बोर्ड सदस्य शरद अधिकारी र मिडिया विकास कोषको सुविधाका विषयमा काउन्सिलका मुख्य अधिकृत झवीन्द्र भुसालले प्रस्तुतीकरण गर्नु भएको थियो ।
पत्रकारिताको लागि आचार संहिताको अत्यादिक महत्व देखाउँदै यसको परिधिभित्र रहेर पत्रकारहरुले समचार लेख्दा पत्रकारिताको पहिचान हुने उदेश्यले कार्यक्रमको आयोजना गरिएको प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य ठाकुरप्रसाद बेल्वासेले बताउनु भयो ।
विचार र अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, प्रेस स्वतन्त्रता लगायत नागरिकका आधारभूत अधिकारको संरक्षण, संवद्र्धन र प्रचलनका लागि पत्रकारिताका सिद्धान्त, अन्तर्राष्ट्रिय मूल्य–मान्यताका आधारमा पत्रकारिताको व्यावसायिक अभ्यासलाई उच्च पेशागत, मर्यादित, जवाफदेही एवं उत्तरदायी बनाई राष्ट्र र समाजको सर्वोत्तम हितका लागि सबै सञ्चारमाध्यम र पत्रकारलाई लागू हुने गरी प्रेस काउन्सिल ऐन, २०४८ को दफा ७ को खण्ड (ख)ले दिएको अधिकार प्रयोग गरी नेपाल पत्रकार महासंघको सहमतिमा प्रेस काउन्सिल नेपालले यो आचारसंहिता २०७३ जारी गरेको छ ।
उहाँले पत्रकारलाई परेको समस्या समाधानका लागि काउन्सिलले सधैँ भूमिका निभाउँदै आएको पत्रकार आचारसहिंतालाई मूलमन्त्रका रुपमा लिन पत्रकारलाई आग्रह गर्नु भयो । यस्तै काउन्सिलका बोर्ड सदस्य शरद अधिकारी पत्रपत्रिका वर्गीकरणका सम्बन्धमा पत्रिकाहरू हुबहुमा पर्ने समस्या जटिल देखिएको बताउनु भयो । उहाँले पत्रकार र मिडिया सञ्चालक जिम्मेवार नभएको गुनासो गर्नुभयो । पत्रकार आचारसंहिता र वर्गीकरणको मापदण्डभित्र रहेर पत्रपत्रिका प्रकाशन गर्न उहाँको सुझाव थियो ।
कार्यक्रममा प्रेस काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले काउन्सिलको कामकारबाही बारे जानकारी गराउनुभएको थियो । उहाँले पत्रकार आचारसंहिता, प्रेस स्वतन्त्रता, अभिलेख प्रणाली, कोभिडका समयमा सञ्चारमाध्यममा आएका समाचारसामग्रीका विषयमा उठेका सवालका बारेमा प्रष्ट पार्नुभएको थियो । उहाँले सामाजिक सञ्जालमा सूचना सम्प्रेषण गर्दा पनि मर्यादित हुन र स्रोत खुलाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्लास्थित विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि एवं सञ्चारकर्मीको सहभागिता थियो ।





.jpg)