होमपेज / समाज
सरिता चलाउने पुस ७,सल्यान
सल्यानमा हलुवाबेद खेती क्षेत्र विस्तारका लागि कार्यक्रम सुरु गरिएको छ । जिल्लाको शारदा नगरपालिकाको रातामाटामा हलुवाबेद उत्पादन खेती विस्तारका लागि कार्यक्रम सुरु गरिएको हो । हलुवाबेद खेती विस्तारका लागि रातामाटामा सम्भाव्यता अध्ययन गरेर प्रदेश सरकारबाट बजेट विनियोजन गरी हलुवाबेद खेती विस्तारको कार्यक्रम सुरु गर्न लागिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।
सल्यान जिल्ला हलुवाबेद उत्पादनका लागि उपयुक्त स्थान देखिएकाले हलुवाबेद खेती बिस्तार गरिने कृषि विकास कार्यालय सल्यानका ब्लक विकास अधिकृत सन्दीप लामिछानेले बताए । रातामाटाका हरेक घरमा हलुवाबेद उत्पादन गरेको पाइएकाले यसको खेती बिस्तार गर्दै उचित व्यवस्थापन, बजारीकरणका लागि पहल गरिने उनको भनाई छ ।
स्थानिय जातका बिरुवा र जापनिज हलुवाबेदका बिरुवा ल्याएर किसानहरूलाई वितरण गरिने उनले बताए । उनका अनुसार फुयु र जिरो नामक हलुवाबेदका बिरुवा कित्तिपुरको फलफूल विकास केन्द्रबाट ल्याउने तयारी भई रहेको छ।
हलुवाबेद मानव शरीरको लागि बहु उपयोगी पौष्टिक खाना हो । यो मङ्सिर को सुरुदेखि पाक्न सुरु भएर पुस दोस्रो सातासम्ममा बोटबाट बिस्तारै यो निख्रिँदै जान्छ । हलुवाबेदको फल खानको लागि टिप्ने बेलासम्म पनि यसको पत्र दल फलसँग टाँसिएको हुन्छ । पौष्टिकताको हिसाबले यसमा ग्लुकोज र सन्तुलित प्रोटिन पाइन्छ । रासायनिक र औषधीय गुणका कारण अत्यन्तै महत्त्वपूर्ण मानिने यो फल पाकेपछि उक्त पत्र दल सजिलै निकाल्न सकिन्छ ।





.jpg)